काठमाडौं । चिनियाँँ न्यू इनर्जी भेहिकल उत्पादक चांगानले थाइल्यान्डको रायोंगस्थित अत्याधुनिक प्लाण्टबाट सवारी उत्पादन सुरु गरेको छ ।
कम्पनीले २ करोड ८५ लाखौं कार रोल आउट गर्दै आफ्नो थाईबाट प्लाण्टबाट उत्पादन थालेको हो ।
रायोंग प्लान्ट चांगान अटोमोबाइलको चिनियाँ भूमिबाहिर पहिलो न्यू इनर्जी (एनईभी) प्लाण्ट हो । उक्त प्लाण्टबाट चांगानले आगामी ३ वर्षमा १२ वटा ईभी मोडल सार्वजनिक गर्ने योजना बनाएको छ ।
थाइल्याण्ड प्लाण्टको वार्षिक उत्पादन क्षमता २ लाख युनिट रहेको छ । त्यहाँबाट चांगान, दीपल र अवतार ईभी उत्पादन हुन्छ ।
रायोंग प्लाण्टले चांगान अटोमोबाइलको विश्वव्यापी विस्तारमा नीतिगत केन्द्रको भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ । रायोंग प्लाण्टलाई आधार मानेतर चांगान अटोमोबाइलले चांगान अटो साउथइस्ट एसिया, चांगान अटो सेल्स र चांगान अटो कम्पोनेन्ट गरी तीन स्थानीय अपरेसन टिम हुनेछ ।
थाइ बजारमा चांगानले अहिले सकारात्मक परिणाम हात पारिरहेको छ । विशेषगरी दीपल एस ०७ र अवतार ११ लाई स्थानीय बजारले रुचाएको देखिन्छ ।

सन् २०२३ मा चांगान अटोमोबाइलले हाइ न बाई चुआन प्लान सार्वजनिक गरेको थियो । रायोंग प्लाण्टको औपचारिक सुरूआतले यो योजनाको पहिलो चरणलाई जनाउँछ । यसले चांगानको तीन विश्व नीतिहरुः कार निर्यात, ब्रान्ड विश्वव्यापीकरण र विदेशी भूमिमा उत्पादनलाई अगाडि बढाउन मद्दत गर्ने अपेक्षा छ ।
दक्षिणपूर्व एसियामा रेयोंग प्लाण्टले कम्पनीको प्राविधिक मापदण्डलाई बढावा दिनुका साथै क्षेत्रीय औद्योगिक समन्वय र बजारको कोशेढुंगालाई स्थापित गर्नेछ । चांगानले दक्षिण अमेरिका र मध्यपूर्वमा पनि अपरेसन सुरू गरिसकेको छ ।
चांगानले फेब्रुअरीमा आफ्नो फ्ल्यागशिप मोडेल अवतार ११ र अवतार १२ सार्वजनिक गरेको थियो भने दीपल एस ०७ औपचारिक रुपमा यूएई बजारमा प्रवेश गरेको थियो ।
त्यसैगरी, चांगानले युरोपेली बजारलाई लक्ष्य गरी म्युनिखमा पनि अपरेशन सुरू गरेको छ । गत अप्रिलमा चांगानले २ लाख ६ हजार ४७ युनिट कार बिक्री गरेको थियो । न्यू इनर्जी भेहिकल तर्फ भने चांगानले ७१ हजार ३४९ युनिट कार बिक्री गरेको थियो ।
चांगानले आफ्ना तीन इलेक्ट्रीक स्मार्ट ब्राण्ड कियुआन, दीपल र अवतारमार्फतले ईभी बजारमा वर्चश्व बढाइरहेको छ ।

