काठमाडौं । दीपलका विद्युतीय सवारीको ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी पाइने भएको छ ।
नेपालका लागि दीपलका आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दीपलका ईभीका ब्याट्रीमा उक्त वारेन्टी दिएको हो ।
कम्पनीले दीपलका ईभीमा माउ कम्पनीले दिएकोभन्दा थप ३ वर्ष वा ६० हजार किमी वारेन्टी थपेको हो । चांगान अटोमोबाइलले दीपलका ईभीको ब्याट्रीमा ८ वर्ष वा २ लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ ।
एमएडब्लू वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिने भएको हो । जुन नेपालकै सबैभन्दा लामो ईभी ब्याट्री वारेन्टी रहेको कम्पनीको दाबी छ ।
यसले ईभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउने कम्पनीको भनाइ छ । यो ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत दीपलका ग्राहकले हाइभोल्टेज ब्याट्री पार्टस, सेफ्टी एण्ड कन्ट्रोल कम्पोनेन्ट र म्यानुफ्याक्चरिंङ डिफेक्ट लगायतका हाइभोल्टेज ईभी कम्पोनेन्टमा वारेन्टी पाउने छन् ।

साथै यो वारेन्टीले ट्रयाक्सन मोटर एसेम्ब्ली, मोटर कन्ट्रोल युनिट, सहितको इलेक्ट्रीक मोटर सिस्टमको महत्वपूर्ण भागहरूलाई पनि कभर गर्छ ।
दीपलका ईभीमा विश्वकै सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चांगान अटोको अत्याधुनिक मोटर जडान गरिएको छ ।
एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्टेन्डेड वारेन्टी लागू गरेको बताए ।
‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति पनि हो,’ उनले भने, ‘सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रीक मोटर माथिको हाम्रो विश्वासका आधारमा हामीले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्टेन्डेड वारेन्टी लागू गरेका हौं ।’
एमएडब्लू वृद्धिले नेपालका ईभी ग्राहकप्रति आफ्नो दीर्घकालिन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै ईभीको स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको उनको भनाइ छ ।

