इतिहासकै सस्तो ब्याजदरमा गाडी किन्ने अवसर

काठमाडौं । के तपाई बैंकबाट ऋण लिएर गाडी किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अहिले तपाईंका लागि इतिहासकै सस्तो ब्याजदरमा गाडी किन्ने मौका बन्न सक्छ ।

किनभने अहिले बैंकको ब्याजदर इतिहासकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले वि.सं. २०६८ फागुनदेखि आधिकारिक रूपमा कर्जाको मासिक औसत ब्याजदर सार्वजनिक गर्न थालेको थियो । त्यसलाई आधार मान्दा बैंकको ब्याजदर अहिलेसम्मकै सस्तो भएको हो ।

३ वर्ष अघि १५/१६ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर हाल औसतमै ७ प्रतिशतभन्दा तल झरेको छ । अझ बेसरेट कम भएका बैंकबाट ऋण लिँदा ५.५/६ प्रतिशतमै पाइने अवस्था छ ।

बैंकहरूको ब्याजदर सस्तिनुको मुख्य कारण हो बैंकहरूको बेसरेट घट्नु । बैंकहरूले २०८० कात्तिक यता लगातार निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्न गई हाल औसत बेसरेट ५.३३ प्रतिशतमा झरेको छ । यो हालसम्मकै सस्तो हो ।

बैंकहरूले बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा लगानी गर्छन् । न्यूनतम प्रिमियम भने ग्राहकले गर्नसक्ने बार्गेनिङमा भर पर्छ । अहिले प्रणालीमा अधिक तरलता रहेकाले बार्गेनिङ गर्न सक्ने ग्राहकले न्यूनतम ०.५/१ प्रतिशत प्रिमियममै ऋण पाउने अवस्था छ । सो अनुसार बैंकबाट ५.५ देखि ७ प्रतिशत हाराहारीमा ऋण लिइरहेका छन् ।

त्यस्तै, बैंकहरूले स्थिर ब्याजदरमा ऋणन लिन चाहने ग्राहकलाई पनि सस्तै ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् । बैंकहरूले अहिले ७ प्रतिशतदेखि ९/१० प्रतिशतसम्मको स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् । बैंकहरूले ५ देखि ७ वर्षसम्मका लागि ऋण दिन्छन् ।

ब्याजदर जति कम भयो, ऋणीलाई उति नै फाइदा हुन्छ । सस्तो ब्याजमा ऋण लिएर गाडी किन्दा लागत समेत कम पर्न जान्छ । मासिक तिर्नुपर्ने ब्याजखर्च कम हुन्छ ।

कुन बैंकबाट कति ब्याजदरमा पाइन्छ ऋण ?

कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

२० वटा बैंकमध्ये हाल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा सस्तो ४.४२ प्रतिशत छ । बार्गेनिङ गर्न सक्ने ग्राहकलाई बैंकले १/१.५ प्रतिशत प्रिमियममा ऋण दिइरहेको छ । सो अनुसार यस बैंकबाट ६ प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा पाइने अवस्था छ ।

त्यस्तै, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल बैंकको बेसरेट ५ प्रतिशत भन्दा कम छ । यीमध्ये चार्टर्डले हाल अटो कर्जा प्रवाह गर्दैन । एभरेष्ट र नेपाल बैंकबाट भने सवारी किन्न ६ प्रतिशत हाराहारीमै ऋण पाउन सकिन्छ । नेपाल बैंकले ५.६३ प्रतिशत ब्याजदरमै अटो लोन स्कीम नै ल्याएको छ ।

त्यस्तै, कृषि विकास, नबिल, ग्लोबल, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, प्रभु, लक्ष्मी सनराइज, माछापच्छ्रे र एनएमबी बैंकको बेसरेट ५ देखि ५.५ प्रतिशतको बीचमा छ । यी बैंकबाट पनि न्यूनतम ६/६.५ प्रतिशत हाराहामी कर्जा पाइने अवस्था छ ।

त्यस्तै, नेपाल एसबीआइ, सिद्धार्थ, कुमारी, सिटिजन्स, हिमालयन, र प्राइम कमर्शियलको बेसरेट ५.५ देखि ६ प्रतिशतको बीचमा छ । यी बैंकबाट पनि ७/७.५ प्रतिशत ब्याजदरमै अटो लोन पाउन सक्ने अवस्था छ ।

२० बैंकमध्ये एनआइसी एशियाको बेसरेट सबैभन्दा महँगो ६.४१ प्रतिशत रहेको छ । तुलनात्मक रूपमा यो बैंकबाट ऋण लिँदा केही महँगो पर्छ ।


Back_to_top