काठमाडौं । सरकारले यात्रुवाहक सार्वजनिक सवारी साधनको दर्ता खुलाएको छ । यातायात व्यवस्था विभागले शर्त सहित असोज १ गतेदेखि लागू हुने गरी यात्रुवाहक सवारीको दर्ता खुलाएको हो ।
विभागले मंगलबार राति सातै प्रदेशका यातायात मन्त्रालय र सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै सार्वजनिक सवारीको दर्ता खुलाएको जानकारी गराएको हो ।
विभागका निर्देशक मणिराम भुषालले काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुलाइएको जानकारी दिए ।
उनका अनुसार उपत्यका बाहिर विद्युतीय र आइस (डिजेल) दुबै सवारी दर्ता खुला गरिएको छ । तर, विद्युतीय सवारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।
काठमाडौं उपत्यका भित्र भने सबै खाले नयाँ सार्वजनिक सवारी दर्ता खुला नगरिएको उनले बताए । उपत्यका भित्र हाललाई स्कुल बस र सट्टाभर्ना हुने सवारी मात्र दर्ता हुने उनले जानकारी दिए । उपत्यका भित्रको रुट तथा सवारी व्यवस्थापनको लागि हाललाई सार्वजनिक सवारी दर्तामा लगाइएको रोक कायमै राखिएको उनको भनाइ छ ।
‘जेठदेखि रोकिएको सार्वजनिक सवारीको दर्ता खुलाइएको छ । काठमाडौं उपत्यका बाहिर विद्युतीय र डिजेल दुवै सवारी दर्ता हुन्छन् । काठमाडौं उपत्यकाको हकमा भने स्कुल बस र सट्टाभर्ना हुने सवारी मात्रै दर्ता खुला गरिएको हो,’ उनले मेरोअटोसँग भने ।
विभागले गत जेठ ७ गते सार्वजनिक हित एवं सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने भन्दै देशभर सार्वजनिक सवारीको दर्ता रोकेको थियो । विभागले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्याधिक वायू प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै दर्ता रोक्न निर्देशन दिएको थियो ।
यद्यपि, यसअघि दुई चरणमा सार्वजनिक सवारीको दर्ता खुकुलो बनाउँदै लगेको थियो । पहिलो चरणमा असार ८ गतेसम्म एलसी खोलिसकी प्रक्रिया अघि बढिसकेका र नेपाल भित्रिसकेका सार्वजनिक सवारी दर्ता खुलाएको थियो । त्यस्तै, विभागले साउन १८ गते मालबाहक सवारी साधनको दर्ता खुलाएको थियो ।
सार्वजनिक सवारीको दर्ता खुलेसँगै अटो व्यवसायी र यातायात व्यवसायीलाई राहत मिलेको छ ।


