लाइसेन्सको त्रुटि अब अनलाइनबाटै सच्याउन मिल्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)मा रहेका व्यक्तिगत विवरण सम्बन्धी त्रुटि अब अनलाइन प्रणालीबाटै सच्याउन मिल्ने भएको छ ।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि संचालनमा ल्याएको नयाँ अनलाइन प्रणाली इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एण्ड भेइकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)मा हालै उक्त सुविधा थपेको हो ।

यससँगै अब लाइसेन्स जारी भइसकेका चालकहरूको व्यक्तिगत विवरणमा रहेको त्रुटि अनलाइन प्रणालीबाटै सच्याउन सकिने भएको हो । यसअघि भने लाइसेन्समा भएको सामान्य त्रुटि सच्याउन पनि सम्बन्धित यातायात कार्यालयमै धाउनुपर्ने बाध्यता थियो ।

विभागका अनुसार चालकले आफ्नो लाइसेन्समा भएको नाम, थर, जन्ममिति, बुबाआमाको नाम, स्थायी ठेगाना, फोन नम्बर, इमेल लगायत त्रुटि अनलाइनबाटै सच्याउन सक्नेछन् ।

यद्यपि, व्यक्तिग विवरण सच्याउँदा राष्ट्रिय परिचयपत्रमा भएकै विवरण उल्लेख गर्नुपर्ने विभागले जनाएको छ ।

यसरी सच्याउनुहोस् त्रुटि

  • आफ्नो लाइसेन्सको त्रुटि सच्याउन सबैभन्दा पहिला सम्बन्धित प्रदेश (सातै प्रदेशको फरक फरक छ)को नयाँ ईडीएलभीआरएसको वेबसाइट खोल्नुपर्छ । त्यसपछि होमपेजको तल बाँयापट्टी रहेको ‘लाइसेन्स सच्याउने आवेदन’ (लाइसेन्स करेक्सन एप्लिकेसन)मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि खुल्ने पेजमा आफ्नो नाम, राष्ट्रिय परिचयपत्र नम्बर, राष्ट्रिय परिचयपत्रको फोटो, लाइसेन्स नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना इन्ट्री गर्नुहोस् ।
  • कन्टिन्युको बटनमा क्लि गर्नुहोस् । त्यसपछि तपाईंको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । उक्त ओटीपी कोड राख्नुहोस् । अनि ड्याशबोर्डमा गई आफ्नो के विवरण (नाम, थर, जन्ममिति, बुबाआमाको नाम, स्थायी ठेगाना, फोन नम्बर, इमेल) त्रुटि भएको हो, सो सच्याउनुहोस् ।
  • सम्पूर्ण विवरण भरिसकेपछि आफूले सब्मिट गरेका सबै विवरण ठीक छन् भन्ने चिह्नमा टिकमार्ग लगाउनुहोस् । र, सब्मिट अपडेट रिक्वेस्ट बटनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि फेरि एकपटक कुन विवरण सच्याइँदैछ भन्ने अप्सन देखिन्छ । यदि तपाईंले भरेको विवरण गलत छ भने रद्द गर्नुहोस् । र, सही छ ‘एस सम्बिट’मा ट्याप गर्नुहोस् ।
  • तपाईंले दिएको आवेदन सम्बनिधत यातायात कार्यालयको अनलाइन सिस्टममा देखिने छ । कार्यालयका कर्मचारीले रुजु गरी स्वीकृत गरेपछि अनलाइन प्रणालीमा तपाईंको अपडेटेड कार्ड देखिने छ ।


Back_to_top