काठमाडौं । आगामी असोज ७ गते (सेम्टेम्बर २३) देखि संयुक्त अरब इमिरेट्को दुबईदेखि पोखरासम्म सिधा उडान सुरू हुने भएको छ ।
फ्लाइ दुबई एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने भएको हो ।
पोखरा विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले हरेक दिन साँझ ६:१५ बजे पोखरा अवतरण र ७:१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको जानकारी दिए । पहिलो दिन भने निर्धारित समयभन्दा केही समयअघि जहाज अवतरण हुनसक्ने उनले बताए ।
उनले फ्लाइ दुबईले एयर बस ३१९/३२० जहाजबाट पोखरा–दुबई उडान गर्ने बताए । ‘असोज ७ देखि फ्लाइ दुबईले पोखरामा नियमति उडान सुरु गर्नेछ । पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ, पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ । फ्लाइ दुबईले आवश्यकता अनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउँछ,’ उनले भने ।
फ्लाइ दुबईले सुरुमा एक महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरेको थियो । तर, यात्रुको चाप बढ्ने देखेपछि एयरलाइन्सले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरेको छ ।
दुबई-पोखरा-दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो ।


