ट्वीन सिलिण्डर भएका चर्चित दुई एड्भेन्चर मोटरसाइकल, तपाईंको रोजाइ कुन ?

काठमाडौं । एड्भेन्चर मनपर्नेहरूको लागि नेपाल उत्कृष्ट गन्तव्य हो । यहाँका सडकदेखि पहाडी र हिमाली क्षेत्र एड्भेन्चर टुरिजमको लागि प्रख्यात छन् । त्यसैले नेपालमा एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको बिक्री बढ्दो क्रममा छ ।

केही वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुने हाम्रो बजारमा अब भने ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्ट पनि बढिरहेको देखिन्छ । माग बढेसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरूले एड्भेन्चर सेग्मेन्टमा प्रिमियम र शक्तिशाली मोडल ल्याउन थालेका छन् ।

ट्वीन सिलिण्डर इन्जिन भएका मोटरसाइकल समेत आइरहेका छन् । सामान्यतया ठूलो मोटरसाइकलमा हुने ट्वीन सिलिण्डर पछिल्लो समय मध्यम खालका मोटरसाइकलमा पनि पाइन थालेको छ ।

नेपाली बजारमा ठूलो इन्जिनमा ट्वीन सिलिण्डर भएका मोटरसाइकलमा धेरै विकल्प पाइन्छ । तर, सानो इन्जिनमा कम विकल्प पाइन्छ । सीएफमोटो ४५० एमटी र मोर्बिडेली टी ३५२ एक्स ट्वीन सिलिण्डर भएका सबैभन्दा कम क्षमतामा मोटरसाइकलको रूपमा उपलब्ध छन् । यी दुवै मोटरसाइकल नेपाली बजारमा प्रिमियम एड्भेन्चर सेग्मेन्टका आकर्षक विकल्प हुन् ।जुन पछिल्लो समय निकै चर्चामा छन् ।

ट्वीन सिलिण्डर इन्जिनमा भएका यी दुई मोटरसाइकलको इन्जिनको पावर, पर्फमेन्स, फिचर, मूल्यका बारेमा हामीले यहाँ तुलनात्मक भिन्नता बारे चर्चा गरेका छौं ।

डिजाइन

दुवै मोडल एड्भेन्चरभन्दा पनि बढि टुरर बेस्ड डिजाइनमा आधारित छन् । नर्मल एड्भेन्चर मोटरसाइकल अलि अग्लो र केही हलुका किसिमको हुन्छन् भने टुरर डिजाइन रहेका एड्भेन्चर सेग्मेन्ट अलि धेरै भारी तौल र कम सिट हाइटमा पाइन्छ । जुन कुरा यी दुई मोडलमा लागू हुन्छ । दुवै मोटरसाइकलको लुक्स एकदमै एग्रेसिभ र हेभि डिजाइनमा छ ।

ट्वीन सिलिण्डर इन्जिन भएका यी दुवै प्रिमियम एड्भेन्चर मोटरसाइलमा अग्लो फ्रन्ट डिजाइन, आ–आफ्नै छुट्टा छुट्टै सिग्नेचर प्रदान गर्ने आकर्षक हेडलाइट सेटअप, टेल सेक्सन र एड्भेन्चर टुरर राइडिङ सुहाउँदो लुक दिइएको छ । दवै मोटरसाइकलको एर्गोनोमिक्स टुरर बडीवर्कले सडकमा फरक पहिचान बनाउँछ ।

इन्जिन पर्फमेन्स

सीएफमोटो एमटी ४५० मा ४४९ सीसी, प्यारालल ट्वीन सिलिण्डर, लिक्विड कुल्ड, इनलाइन फोर स्ट्रोक, डीओएचसी, २७० डिग्री क्रयांक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ४३.६ हर्षपावर तथा ४४ एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

मोर्बिडेली टी ३५२ एक्समा ३४९.२ सीसीको प्यारालल ट्वीन सिलिण्डर, लिक्विड कुल्ड, डीओएचसी, फोर स्ट्रोक, आठ भल्ब, इएफआई इन्जिन प्रयोग भएको छ । यो इन्जिनले अधिकतम ४१ हर्सपावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

६ स्पीड गियरबक्स उपलब्ध दुवै मोटरसाइकलले लामो दूरीको यात्रा, हाइवे क्रुजिङ, पहाडी अफरोड र उकालो बाटोमा स्मुथ तथा शक्तिशाली प्रदर्शन गर्छ ।

माइलेज

प्रायः सबै टुरर मोटरसाइकलमा ठूलो क्षमताको पेट्रोल ट्याकं प्रयोग गरिन्छ । त्यसैले एमटी ४५० मा १७.५ लिटर र टी ३५२ एक्समा १८ लिटरको इन्धन ट्याकं दिइएको छ । यी दुवै मोटरसाइकलले १ लिटर पेट्रोलबाट २० किलोमिटर भन्दा बढि माइलेज दिन्छ । यो टुरर मोटरसाइकलको निकै राम्रो पक्ष हो ।

सस्पेन्सन,  ब्रेक र डाइमेन्सन

एमटीको फ्रन्टमा केवाइबी एड्जस्टेवल यूएसडी फोर्क र रियरमा मल्टि लिंक मोनोसक सस्पेन्सन सेटअप छ । जसलाई एड्जस्ट, प्रिलोड र रिबाउण्ड गर्न सकिन्छ । त्यस्तै, मोटरसाइकलमा डबल डिस्क ब्रेक, रियर स्विचेवल सहितको डबल च्यानल एबीएस र स्पोक ह्वील छ ।

ट्युबलर स्टिल फ्रेममा बनेको एमटीमा आल्मुनियम स्विङआर्म प्रयोग गरिएको छ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएम र सिट हाइट ८२० एमएम रहेको छ ।

टी ३५२ एक्समा अपसाइड डाउन टेलिस्कोपिक फ्रन्ट फोर्क र रियरमा प्रिलोड एड्जस्टेबल मल्टि लिंक अब्जर्बार पाइन्छ । यसमा पनि डिस्क ब्रेकसहित रियर स्वीचेवल डबल च्यानल एबीएस र स्पोक ह्वील दिइएको छ ।

१८० एमएम ग्राउण्ड क्लियरेन्स रहेको एक्सको सिट हाइट ८२० एमएम नै छ । यो पेरिमेटर फ्रेममा बनेको छ । यसका अलावा दबै मोटरसाइकलको तौल भने १८० देखि १९० किलोग्रामको हाराहारिमा छ । दुवैमा अफरोड ट्राभल सेटअप पनि हाई नै दिइएको छ ।

टेक फिचरहरू

दुवै मोटरसाइकलमा निकै एड्भान्स टेक फिचरहरू पाउन सकिन्छ । सीएफ मोटो एमटी ४५० मा नेक्स्ट जेन डिजिटल कर्भ टिएफटी डिस्प्ले, सिएफमोटो एपसहितको कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, डबल स्टेक हेडल्याम्प, पुरा एलईडी लाइट सेटअप, ट्रयाक्सन कन्ट्रोल, मेकानिकल थ्रोटल, स्लीपर क्लच, एड्जस्ट गर्न मिल्ने ह्याण्डलबार र इन्जिन गार्ड, बास प्लेट, विन्डस्क्रिन, यूएसबी पोर्ट लगायतका फिचरहरू छन् ।

मोर्बिडेली टी ३५२ एक्समा भर्टिकल डे एण्ड नाइट स्क्रीन मोडसहितको टीएफटी डिस्प्ले, एलईडी प्रोजेक्टर हेडल्याम्प, पूरा एलईडी लाइट, मल्टि फंगसन भएको एपसहितको ब्लुटुथ कनेक्टिभिटी सिस्टम, टी–बक्स एलओटी कनेक्टिभिटी, जीपीएस नेभिगेसन, एसओएस पेनिक बटन, एन्टी-थेफ्ट रिमोट कटअफ, स्मार्टफोन मिररिङ, तीन राइडिङ मोड, अफरोड मोड, ट्रयाक्सन कन्ट्रोल, डुअल केबल थ्रोटल कन्ट्रोल, स्लिपर क्लच, टायर मनिटरिङ र युएसबी पोर्ट जस्ता फिचरहरू पाइन्छ ।

मूल्य

नेपालमा सीएफमोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टर हो । कम्पनीले एमटी ४५० मोटरसाइकलको मूल्य १२ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गरिरहेको छ ।

मोर्बिडेली ब्राण्ड भने नेपालमा हालसालै भित्रिएको हो । नेपालका लागि मोर्बिडेलीको आधिकारिक वितरक कम्पनी वैद्यज् अर्गनाइजेसन रहेको छ । कम्पनीले नेपाली बजारमा टी ३५२ एक्सको मूल्य १० लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालेको हो ।

निष्कर्ष

सीएफमोटो ४५० एमटी र मोर्बिडेली टी ३५२ एक्स दुवै ट्वीन सिलिण्डर इन्जिनयुक्त प्रिमियम एड्भेन्चर टुररका रूपमा बलिया विकल्प हुन् । ४५० एमटीे ठूलो इन्जिन क्षमता, उच्च पावर-टर्क, बढी ग्राउण्ड क्लियरेन्स र प्रिमियम हार्डवेयरका कारण पर्फमेन्समा अगाडि छ ।

मोर्बिडेली टी ३५२ एक्स कम मूल्यमै आकर्षक डिजाइन, आधुनिक फिचर र ट्वीन सिलिण्डरको अनुभव लिन पाइन्छ । बढी पावर र अफरोड क्षमताका लागि ४५० एमटी र मूल्य र फिचरको सन्तुलन खोज्नेका लागि टी ३५२ एक्स उपयुक्त देखिन्छ ।


Back_to_top