प्लगइन हाइब्रिड गाडी बनाउँदै लिपमोटर, अर्को वर्ष बजारमा आउने

काठमाडौं । चिनियाँ स्टार्टअप लिपमोटरले सन् २०२७ मा अन्तर्राष्ट्रिय बजारमा प्लग इन हाइब्रिड गाडी ल्याउने भएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई आकर्षित गर्न र आफ्ना उत्पादनहरूको दायरा फराकिलो बनाउन आगामी वर्ष विदेशमा प्लग इन हाइब्रिड (पीएचईभी) मोडलहरू सार्वजनिक गर्ने योजना बनाएको हो ।

चिनियाँ संचार माध्यम कैलियानले जनाए अनुसार लिपमोटरले आफ्ना उत्पादनहरूको दायरा बढाउन पीएचईभी प्रविधिको अनुसन्धान तथा विकासमा लगानी तीव्र पारेको छ ।

कम्पनीले सन् २०२७ को पहिलो ६ महिना भित्रै विदेशी बजारमा हाइब्रिड मोडल बिक्री सुरू गर्ने लक्ष्य राखेको रिपोर्टमा उल्लेख छ । यद्यपि, कुनै निश्चित मोडल वा प्रारम्भिक बजारहरूको पहिचान भने गरिएको छैन।

लिपमोटरले हाल ब्याट्री इलेक्ट्रीक भेहिकल (बीईभी) र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरईभी) मात्रै उत्पादन गर्दै आएको छ । विश्व बजारमा हाइब्रिड सवारीको माग बढेसँगै कम्पनीले हाइब्रिडमा पनि आफूलाई केन्द्रित गर्न लागेको हो ।

यो योजना लिपमोटरले आफ्नो वैदेशिक विस्तारलाई तीव्र बनाइरहेको समयमा आएको हो । लिपमोटरले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति द्रुत गतिमा बढाउँदै लगेको छ ।

कम्पनी व्यवस्थापनका अनुसार सन् २०२६ मा विदेशमा २ लाख थान गाडी बिक्री गर्ने प्रक्षेपण गरिएको छ । जुन यसअघिको १ लाखदेखि १.५ लाखको लक्ष्यभन्दा निकै बढी हो। त्यस्तै, सन् २०२७ सम्ममा वैदेशिक बिक्री ३ लाख ५० हजारदेखि ४ लाख पुर्याउने लक्ष्य राखिएको छ।

यस वर्षको पहिलो ८ महिनामा लिपमोटरले १ लाख ३२ हजार ११८ थान गाडी निर्यात गरिसकेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३२७.७९ प्रतिशत धेरै हो ।

विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिससँगको संयुक्त उपक्रम ‘लिपमोटर इन्टरनेसनल’ मार्फत कम्पनीले चीन बाहिर व्यापार विस्तार गरिरहेको छ। चार्जिङ पूर्वाधारको अभाव भएका वैदेशिक बजारहरूमा कम्पनीले एक्सटेन्डेड रेन्ज प्रविधिलाई प्राथमिकता दिँदै हालै अर्जेन्टिनामा बी १० र सी १० एसयूभी सार्वजनिक गरेको थियो।

यसैबीच, लिपमोटरले इन्डोनेसियामा इन्डोमोबिल ग्रुपमार्फत सवारी साधनको नक डाउन एसेम्ब्ली सुरू गर्दै स्थानीय उत्पादन क्षमता समेत वृद्धि गरिरहेको छ।

चालु वर्षमा विश्वभर कुल १० लाख सवारी साधन बिक्री गर्ने वार्षिक लक्ष्य राखेको लिपमोटरले पहिलो ८ महिनामा ५ लाख ६० हजारभन्दा बढी गाडी डेलिभरी गरिसकेको जनाएको छ ।


Back_to_top