ट्यांक-३०० कि बीजे-३०ईः मूल्यमा ठूलो अन्तर, फिचरमा कुन अब्बल ?

काठमाडौं । प्रिमियम र साहसिक यात्रालाई लक्षित गर्दै नेपाल ल्याइएको ग्रेटवाल मोटर्सको ट्यांक ३०० र बीएआईसी ग्रुपको बीजे-३०ई नेपाली बजारमा किन्न पाइन्छ ।

दुवै गाडीमा पेट्रोल इन्जिन छ । सँगै विद्युतीय मोटर पनि प्रयोग भएको कारण हाइब्रिड टेक्नोलोजीको मज्जा लिन सकिन्छ । दुबैमा फोर ह्वील ड्राइभ सिस्टम उपलब्ध भएको कारण एकअर्काको प्रतिस्पर्धी भए ।

मूल्यदेखि इन्जिन क्षमता, पावर, साइज, ग्राउन्ड क्लियरेन्स र भित्री प्रविधिसम्म हेर्दा भने दुबै गाडीको टार्गेट ग्रुप नै फरक देखिन्छ ।

ग्रेटवाल मोटर्सको आधिकारीक बिक्रेता भिजी इम्पेक्सले ट्यांक ३०० को सुरुवाती मूल्य १ करोड ५९ लाख ९५ हजार रुपैयाँ राखेर बिक्री गर्दै आएको छ ।

लक्ष्मी मोटरहबले नेपालमा बिक्री वितरण गर्ने बीएआईसी बीजे-३०ई १ करोड १९ लाख ९६ हजार रुपैयाँ मूल्य कायम गरेर बिक्री सुरु भएको मोडल हो ।

यसरी हेर्दा दुई गाडीको मूल्यमा ४० लाख रुपैयाँको अन्तर रहेको देखिन्छ । मूल्यले बीजे-३०ईलाई धेरै ग्राहकको पहुँचमा पुग्ने बनाएको छ ।

इन्जिन र पावर

ट्यांक ३०० मा २.० लिटरको टर्बो पेट्रोल इन्जिनसँग विद्युतीय मोटर जोडिएको छ । पेट्रोल र विद्युतीय मोटरको संयुक्त पावर ३५१ पीएस र ६४८ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ गियरको हाइब्रिड गियरबक्स दिइएको छ ।

ट्यांक ३०० को इन्टेरियर

यसको तुलनामा बीजे-३०ईमा १.५ लिटरको पेट्रोल इन्जिन भएपनि बढी शक्तिशाली देखिन्छ । यसमा प्रयोग भएको पेट्रोल इन्जिनले १५५ एचपी पावर र २३५ एनएम टर्क उत्पादन गर्छ । अगाडि र पछाडि नै प्रयोग भएको इलेक्ट्रीक मोटरले २५० पीएस पावर प्रदान गर्छ । समग्रमा बीजे-३० ईको पावर ४०५ पीएस छ भने टर्क ६८५ न्यूटन मिटर छ ।

अफरोडमा ट्यांक ३०० बलियो

दुवै गाडी फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । ट्यांक ३००को बनोट नै साहसिक यात्रालाई केन्द्रमा राखेर गरिएको देखिन्छ ।

ट्यांक ३०० मा २२४ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ भने बीजे-३०ईमा २१५ मिलिमिटर अग्लो ग्राउन्ड क्लियरेन्स पाइन्छ । ट्यांक ३००को तौल २ हजार ३१३ किलोग्राम छ । यसको ७५ लिटरको इन्धन ट्यांकले लामो दूरीको यात्रामा पनि उपयोगी हुने अपेक्षा गर्न सकिन्छ ।

बीजे-३०ईको इन्धन ट्यांक क्षमता ५१ लिटरको छ । यसको तौल १ हजार ७७० किलोग्राम रहेको छ । तुलनात्मक रूपमा हलुका भएकाले शहरी सडक तथा सामान्य यात्रामा चलाउन पनि सहज हुन्छ ।

साइज लगभग उस्तै ह्वीलबेसमा बीजे-३०ई अगाडि

ट्यांक ३००को लम्बाइ ४७६० मिलिमिटर, चौडाइ १९३० मिलिमिटर र उचाइ १९०३ मिलिमिटर छ । यसमा २७५० एमएम लामो ह्वीलवेस रहेको छ ।

बीजे३०ईको लम्बाइ ४७३० एमएम, चौडाइ १९१० एमएम र उचाइ १७९० एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलवेस छ । लामो ह्वीलबेसका कारण पछाडिको यात्रुका लागि बीजे३०ईमा राम्रो स्पेश पाउन सकिन्छ ।

प्रविधिमा बीजे-३०ई आक्रामक

ट्यांक ३००को बलियो पक्ष शक्ति र अफरोड क्षमता हो भने बीजे३०ईले प्रविधि र आधुनिक भित्री डिजाइनमा बढी जोड दिएको छ ।

बीजे-३०ईमा १०.२५ इन्चको डिजिटल इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ । साथै, स्न्यापड्रागन ८१५५ चिपसेट, वायरलेस चार्जिङ, ड्यूल जोन एसी, एयर प्यूरिफायर सहित एडास फिचर उपलब्ध छ ।

बीजे-३०ईको इन्टेरियर

बीजे-३०ईमा एडास भित्रका एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ब्लाइन्ड स्पर्ट मोनिटरिङ सिस्टम, इमेर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् ।

ट्यांक ३००मा सातवटा एयरब्याग, ३६० डिग्री क्यामेरा, हिल होल्ड असिस्ट, इलेक्ट्रीक पार्किङ ब्रेकसहितको अटो होल्ड लगायत सुरक्षा फिचर पाउन सकिन्छ ।

मूल्यले बनाएको मुख्य फरक

यी दुई गाडीबीचको सबैभन्दा ठूलो प्रश्न मूल्य हो । बीजे-३०ईभन्दा ट्यांक ३०० खरिद गर्न करिब ४० लाख रुपैयाँ बढी तिर्नु पर्छ । त्यसैले ग्राहकले केवल सुविधाको सूचीभन्दा आफूलाई चाहिने एसयूभीको प्रकृति हेर्नुपर्ने हुन्छ ।

अधिक शक्ति, ठूलो इन्जिन, बढी ग्राउन्ड क्लियरेन्स, ठूलो इन्धन ट्यांक र साहसिक यात्राका लागि बलियो बनोट चाहने ग्राहकका लागि ट्यांक ३०० आकर्षक देखिन्छ ।

तर, तुलनात्मक रूपमा कम मूल्यमा फोर ह्वील ड्राइभ सिस्टम, आधुनिक क्याविन, ठूलो स्क्रीन, एडास फिचर खोज्ने ग्राहकका लागि बीजे-३०ईले फरक तथा आकर्षक प्रस्ताव अघि सारेको छ ।

(नोटः भिजी इम्पेक्सले छिट्टै प्लग इन हाइब्रिड टेक्नोलोजी भएको ट्यांक ३०० नेपाल ल्याउने जनाएको छ । यो मोडल अहिलेको भन्दा महंगो हुनेछ ।)


Back_to_top