काठमाडौं । यामाहाले भारतमा आफ्नो लोकप्रिय सिंगल सिलिण्डर सुपरस्पोर्ट मोटरसाइकल आर१५ भी४ लाई अपडेट गरेको छ । यामाहाले आफ्नो चर्चित मोडल आर१५ भी४ मा पहिलो पटक क्विकसिफ्टर सुविधा थपेर बजारमा ल्याएको हो ।
कम्पनीले भारतीय बजारमा आर१५ भी४ क्विकसिफ्टर भेरियन्टको मूल्य १ लाख ७९ हजार ५०० भारु(एक्स शोरुम) तोकेर बिक्री सुरू गरेको हो । जुन मूल्य पुरानो भन्दा ४ हजार ६५० भारुले बढेको हो ।
यससँगै यामाहाको आर सिरिजको पहिलो स्पोर्ट मोडल आर १५ भी४ पहिलेभन्दा थप प्रविधिमैत्री र राइडरका लागि सहज बनेको कम्पनीले जनाएको छ ।
यामाहा आर१५ लामो समयदेखि रुचाइएको १५५ सीसी सुपरस्पोर्ट मोटरसाइकल हो । कम्पनीले हालै आर२ सार्वजनिक गरेपछि आर१५ भी४ मा गरिएको यो अपडेटले मोटरसाइकलको प्रविधि र सुविधालाई थप आकर्षक बनाएको छ ।
यामाहा आर१५ भी४ को टप भेरियन्ट आर१५ एम र नन एम इन्टेन्सिटी ह्वाइट कलरमा भने यसअघि नै क्विकसिफ्टर सुविधा प्रयोग गरिएको थियो । हाल नयाँ क्विकसिफ्टर अपडेट आर१५ भी४ को रेसिङ ब्लू र म्याट पर्ल ह्वाइट कलरमा भएको हो ।
क्विकसिफ्टरले क्लच प्रयोग नगरी गियर अपशिफ्ट गर्न सहयोग गर्छ । आर१५ भी४ मा उपलब्ध यो क्विकसिफ्टर युनिडिरेक्सनल अर्थात् अपशिफ्टका लागि मात्र काम गर्ने प्रकारको हो ।
नयाँ अपडेटसँगै यामाहा आर१५ भी४ को इन्जिन तथा मेकानिकल र फिचर पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । मोटरसाइकलमा पहिलेझैं १५५ सीसी, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, एसओएचसी ४-भल्भ, भीभीए इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम १८.१ बीएचपी पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ६-स्पिड गियरबक्ससँग जोडिएको छ ।
अपडेट भएर भारतमा आएको आर१५ भी४ नेपालमा पनि आउने सम्भावना देखिन्छ । एमएडब्लू राइडस्ले नेपालमा नयाँ २०२६ मोडलको आर१५ भी४ ल्याउँदा सो नयाँ भेरियन्ट पनि उपलब्ध गराउने सम्भावना देखिन्छ ।

