काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक बीएआइसी ग्रुप अन्तर्गतको विद्युतीय ब्राण्ड आर्कफक्सले नयाँ फुलसाइज एसयूभी अल्फा टी ७ सार्वजनिक गरेको छ ।
कम्पनीले चिनियाँ बजारमा सुरूआती मूल्य १९ हजार १५० अमेरिकी डलर तोकेर अल्फा टी ७ बिक्री सुरू गरेको हो । जुन प्रतिस्पर्धी मोडलको तुलनामा निकै सस्तो मानिएको छ ।
अल्फा टी ७ को मूल्य सिधा प्रतिस्पर्धी साओमी एसयू ७ को तुलनामा झण्डै आधा सस्तो हो । ५ मिटर लामो टी ७ सस्तो मूल्यमा आएकाले ग्राहकको उच्च आकर्षण देखिएको छ । बिक्री सुरू गरेको १ घण्टामै अल्फा टी ७ एसयूभी ३० हजार युनिट बुकिङ भएको कम्पनीले जनाएको छ । यो एसयूभी लन्च अगावै ६० हजार युनिट प्रि अर्डर भएको थियो ।
कम्पनीले अल्फा टी ७ प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर (ईआरईभी) दुवै पावर ट्रेनमा उपलब्ध गराएको छ । कुल ९ भेरियन्टमा आएको यो एसयूभीको ४ वटा ईआरईभी र ५ वटा प्योर इलेक्ट्रीक भेरियन्ट उपलब्ध छन् ।
८०० भोल्ट आर्किटेक्चरमा बनेको अल्फा टी ७ को प्योर इलेक्ट्रीक भेरियन्टमा २२७ किलोवाटको ठूलो मोटर राखिएको छ । जसले ३०४ हर्ष पावर शक्ति प्रदान गर्छ ।

यो एसयूभी ७२.८ किलोवाट आवर र ८४.८ किलोवाट आवर ब्याट्री अप्सनमा उपलब्ध छ । जसले एकपटकको फुलचार्जमा ६५० किमी र ७१५ किमी सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । फास्ट चार्जिङमार्फत यसलाई मात्र १० मिनेट चार्ज गर्दा २७० किलोमिटरसम्मको थप यात्रा गर्न सकिन्छ।
अल्फा टी ७ को ईआरईभी भर्सनमा १.५ लिटरको इन्जिन र २०० किलोवाटको मोटर जडान गरिएको छ । यसमा ४३.९ किलोवाट आवरको ब्याट्री छ । यसको प्योर इलेक्ट्रीक रेन्ज ३२० किलोमिटर छ । फुलट्यांक तेलसहित संयुक्त रेन्ज १,३१५ किलोमिटरसम्म रहेको छ ।
अल्फा टी ७ एसयूभी आकारको आधारमा निकै ठूलो छ । ५ सिट क्षमताको यो एसयूभीको लम्बाइ ५०२० एमएम, चौडाइ १९९६ एमएम र उचाइ १६८५ एमएम छ । यसमा ३,०४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

यसको मुख्य आकर्षणको रूपमा हुवावेको ‘छियानकुन एडीएस ५ प्रो’ ड्राइभर असिस्टन्स प्रणाली राखिएको छ । जसमा लुकाइएको लाइडारसहित २७ वटा सेन्सरहरू रहेका छन् । जसले राजमार्ग तथा सहरी सडकमा गाडीलाई स्वतः चलाउन सघाउँछन् । यद्यपि, यो सबै भेरियन्टमा उपलब्ध छैन ।
यसको क्याबिन निकै प्रिमियम र फिचर लोडेड छ । आर्कफक्स अल्फा टी ७ मा परम्परागत इन्स्ट्रुमेन्ट क्लस्टरको सट्टा ४३.३ इन्चको पी एचयूडी डिस्प्ले छ । जसले चालकको अगाडिको सिसामा नै यात्रा सम्बन्धी सबै मुख्य सूचनाहरू स्पष्ट रूपमा देखाउनेछ।
यसको सेन्टर कन्सोलमा १७.३ इन्चको थ्रीके रिजोल्युसन भएको ठूलो टचस्क्रीन दिइएको छ । जसमा अलिबाबा र बाइटडान्सका आर्टिफिसियल इन्टेलिजेन्स मोडलहरू एकीकृत गरिएका छन् । यसको मुख्य स्क्रीनले ५ जी कनेक्टिभिटी, आर्टिफिसियल इन्टेलिजेन्स भ्वाइस इन्टर्याक्सन, हुवावे हाइकार र एप्पल कारप्ले प्रणालीहरूलाई सपोर्ट गर्छ ।
नेपाली बजारमा आर्कफक्स गत साउनदेखि इन्ट्री गरेको छ । लक्ष्मी मोटरहबले आर्कफक्सको नेपालमा पहिलो मोडलका रुपमा टी वान क्रसओभर बिक्री गरिरहेको छ । ठूलो साइजका एसयूभीको माग बढ्दो क्रममा रहेकाले सम्भवतः अल्फा टी ७ पनि नेपाल आउन सक्छ ।

