काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईको नयाँ मिड साइज एसयूभी ‘बायोन’को नयाँ टिजर भिडियो सार्वजनिक भएको छ ।
कम्पनीले औपचारिक रुपमा लन्च गर्नु अगावै गाडीको आकर्षक लाइटिङ सेटअप, अलोय ह्वील र बाहिरी डिजाइनको महत्वपूर्ण विवरणको टिजर सार्वजनिक गरेको हो ।
हुन्डाईले यो नयाँ एसयूभीलाई आफ्नो पोर्टफोलियोमा लोकप्रिय मोडलहरू भेन्यू र क्रेटाको बीचमा राख्ने तयारी गरेको छ। ४ मिटरभन्दा बढी लम्बाइ हुने बायो हुन्डाईको आधुनिक ‘आर्ट अफ स्टिल’ डिजाइन दर्शनमा आधारित छ।
बायोनको बाहिरी डिजाइन निकै आकर्षक छ । यसको अगाडि पातलो तेर्सो सेतो लाइट बार छ । जसलाई अध्याँरो वरपरको फ्रेमभित्र एकीकृत गरिएको ठाडो बाहिरी भागसँग जोडिएको छ। पछाडि पातलो एलईडी टेल ल्याम्प छ । जुन ठाडो किनारासम्म फैलिएको छ र कालो टेलगेट ट्रिम प्यानलमार्फत आपसमा जोडिएको छ।
यसमा डुअल टोन (सिल्भर र कालो) मेसिन फिनिसिङ भएको १७ इन्चको मल्टि स्पोक अलोय ह्वील रहनेछ । जसमा २१५÷५५ आर१७ साइजको टायर प्रयोग गरिएको छ ।

१७ इन्चको अलोय ह्वीललाई घेरेर राखिएको आकर्षक कालो ह्वील आर्च क्ल्याडिङ छ, जुन साइड सिल र तल्लो बम्परको भागसम्म फैलिएको छ । यसै क्ल्याडिङभित्र पार्किङ सेन्सरहरू समेत एकीकृत गरिएका छन्।
बायोनको कुल लम्बाइ लगभग ४.२ देखि ४.३ मिटर हुने अनुमान छ। यो साइजले बजारमा मारुती भिक्टोरिस र स्कोडा कुशाक जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ । अर्को पुस्ताको क्रेटाको आकार बढेर ४.५ मिटर आसपास पुग्ने भएकाले यी दुई गाडीको बीचमा बायोनले राम्रो स्थान बनाउने विश्वास गरिएको छ।
डिजाइन स्केचहरू अनुसार नयाँ हुन्डाई बायोनमा नयाँ पुस्ताको आइ २० कै जस्तो इन्टेरियर लेआउट दिइएको छ । जसमा तेर्सो ड्यासबोर्ड लेआउट छ । यसमा डुअल इन्टिग्रेटेड डिस्प्ले, फोर डट स्टेयरिङ ह्वील, इलेक्ट्रीक सनरुफ, पावर र भेन्टिलेटेड अगाडिका सिटहरू, अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका सुविधाहरू रहने छन्।
हुन्डाई बायोनमा १.५ लिटर, फोर सिलिण्डर नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिन रहने सम्भावना छ । जुन हुन्डाई क्रेटा र भर्नामा समेत छ । यो इन्जिनले ११४ ब्रेक हर्ष पावर र १४४ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसलाई ६ स्पीड म्यानुअल र सीभीटी गियर बक्ससँग जोडिने छ।
४ मिटरभन्दा लामो हुन्डाईका गाडीमध्ये फ्याक्ट्री फिटेड सीएनजी र अण्डरबडी सीएनजी ट्यांकको विकल्प पाउने यो पहिलो एसयूभी हुने अपेक्षा गरिएको छ ।
कम्पनीले हालै बायोन नामको घोषणा गरेको थियो । यो नाम फ्रान्सेली बास्क देशको ‘बायोन’बाट प्रेरित भएको बताएको थियो । हुन्डाईले प्रारम्भिक संचारको केन्द्रमा प्रविधि, कनेक्टिभिटी र डिजाइनलाई राख्दै यस मोडललाई आफ्नो ‘इन्टेलिजेन्स ओएन’ थिम वरिपरि राखेको छ ।
कम्पनीले यो एसयूभी सार्वजनिक गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, सन् २०२६ भित्रै बजारमा आउने अनुमान छ ।
हुन्डाई बायोन नेपालका लागि समेत निकै उपयुक्त हुने देखिन्छ । कम्पनीले यसलाई क्रेटाभन्दा मुनि र भेन्युभन्दा माथिको श्रेणीमा राख्ने सम्भावना छ । त्यसैले हुन्डाईकै गाडी खोज्नेलाई क्रेटाभन्दा सस्तो नयाँ विकल्प हुनेछ ।

