फेब्रुअरीमा लन्च हुँदै यी ७ नयाँ कार

काठमाडौं । सन् २०२६ को सुरूवातसँगै अन्तर्राष्ट्रिय तथा भारतीय अटोमोबाइल बजार निकै तातेको छ । बजारमा धमाधम नयाँ नयाँ मोडलका गाडीहरू आइरहेका हुन् ।

जनवरीमा किआ सेल्टोसको सेकेण्ड जेनेरेसन, महिन्द्रा एक्सयूभी सेभेन एक्सओ, स्कोडा कुशाक फेसलिफ्ट, टाटा पन्च फेसलिफ्ट र नयाँ रेनो डस्टरजस्ता चर्चित मोडल सार्वजनिक भए ।

अब फेब्रुअरीमा पनि विभिन्न सेग्मेन्टका थुप्रै नयाँ कारहरू सार्वजनिक हुने तयारीमा छन् । फेब्रुअरीमा भारतीय बजारमा मात्रै आधादर्जन बढी नयाँ गाडी बजारमा आउने भएका हुन् ।

फेब्रुअरीमा निसान, टाटा, बीएमडब्लू, एमजी, मारुती सुजुकी, टोयोटा ब्राण्डका नयाँ मोडल बजारमा आउने भएका हुन् । भारतीय बजारमा लन्च हुने केही मोडल नेपालमा पनि आउने सम्भावना देखिन्छ ।

यहाँ फेब्रुअरीमा बजारमा आउने सम्भावित मोडलहरूको चर्चा गरिएको छ ।

निसान टेकटन 

फेब्रुअरीको पहिलो साता निसानले आफ्नो नयाँ मिडसाइज एसयूभी टेकटन सार्वजनिक गर्ने भएको छ । कम्पनीले भोलि बुधबारदेखि टेकटन बिक्री सुरू गर्ने भएको हो ।

यो मोडल २०२६ रेनो डस्टरसँग प्लेटफर्म साझा गरिएको छ । यद्यपि, टेकटनमा निसान पेट्रोलजस्ता ठूला एसयूभी बाट प्रेरित फरक डिजाइन हुनेछ। यसको इन्टेरियर लेआउट पनि फरक हुन सक्नेछ । फिचर सूची भने धेरै हदसम्म डस्टरको जस्तै समान रहने अपेक्षा गरिएको छ।

टेकटनमा १.० लिटर टर्बो पेट्रोल र १.३ लिटर टर्बो पेट्रोल इन्जिनमा आउने छ । यी इन्जिनले क्रमशः १०० हर्ष पावर र १६३ हर्षपावर शक्ति प्रदान गर्छन् । साथै, भविष्यमा हाइब्रिड भेरियन्ट पनि ल्याउने सम्भावना छ।

निसान ग्राभाइट

निसानले फेब्रुअरीमै अर्को कम्प्याक्ट एमपीभी ग्राभाइट पनि बजारमा ल्याउने भएको छ । यो मोडल रेनो ट्राइबरको निसान संस्करण हो। यसमा रेनोकै प्लेटफर्म र संरचना प्रयोग गरिएको छ । तर डिजाइन भने फरक छ ।

यसमा १.० लिटर ३ सिलिण्डर पेट्रोल इन्जिन प्रयोग हुने अपेक्षा गरिएको छ । जसमा ५ स्पीड म्यानुअल र अटेमिटक दुवै गियरबक्स विकल्प उपलब्ध हुनेछन् । साथै, यो सीएनजी संस्करण पनि आउन सक्ने संकेत गरिएको छ।

एमजी मेजेस्टर

एमजी मोटर इन्डियाले आफ्नो प्रमुख एसयूभी मेजेस्टर फेब्रुअरी १२ मा लन्च गर्दैछ । ग्लोस्टरमा आधारित यो एसयूभी अझ आक्रामक डिजाइन र थप सुविधासहित आउनेछ। मेजेस्टर एसयूभी पहिलो पटक अटो एक्स्पो २०२५ मा देखाइएको थियो ।

मेजेस्टरको इन्टेरियर लेआउट धेरै हदसम्म ग्लोस्टरसँग मिल्दोजुल्दो भए पनि यसमा अझ बढी फिचरहरू उपलब्ध हुने अपेक्षा गरिएको छ। यसमा २.० लिटर ट्विन(टर्बो डिजेल इन्जिन रहने छ । जसले २१६ हर्षपावर दिन्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स रहनेछ । यो रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै विकल्प उपलब्ध हुनेछ ।

मारुति सुजुकी ई भिटारा

मारुति सुजुकीले आफ्नो पहिलो विद्युतीय गाडी ई भिटारा यही फेब्रुअरीदेखि बिक्री सुरू गर्ने भएको छ । कम्पनीले यसअघि नै सार्वजनिक गरेको ई भिटाराको मूल्य तोकेको छैन ।

ई भिटारा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर दुई ब्याट्री अप्सनमा आउने छ । यसले अधिकतम ५४३ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । ई भिटाराले विद्युतीय मिडसाइज एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा गर्नेछ।

टोयोटा अर्बन क्रुजर इबेला 

टोयोटाको अर्बन क्रुजर इबेला मूलतः मारुति ई भिटाराको रिब्याज संस्करण हो। कम्पनीले यसअघि नै सार्वजनिक गरेको यो एसयूभीको मूल्य तोकेको छैन ।

इन्टेरियर र प्रविधिमा पनि अवस्था उस्तै छ। ई भिटारा जस्तै अर्बन क्रुजर इबेलामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर दुई ब्याट्री अप्सन उपलब्ध हुने छन् । जसमा फ्रन्ट ह्वील ड्राइभ सेटअप रहेको यसले १७४ हर्ष पावरसम्म शक्ति दिन्छ । ४९ किलोवाट आवर ब्याट्रीले ४४० किलोमिटर र ६१ किलोवाट आवरब्याट्रीले ५४३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीके दाबी छ ।

टाटा सिएरा ईभी

टाटाले आफ्नो बहुप्रतीक्षित सिएरा ईभी पनि फेब्रुअरीको अन्त्यतिर सार्वजनिक गर्न सक्ने संकेत दिएको छ। आइस भेरियन्टको तुलनामा सिएरा ईभीमा ग्रिल नहुनु र फरक बम्पर डिजाइन देख्न सकिन्छ ।

सियरा ईभीमा ५५ किलोवाट आवर र ६५ किलोवाट आवर ब्याट्री अप्सन उपलब्ध हुने अपेक्षा गरिएको छ। ह्यारियर ईभी सँग प्लेटफर्म साझा गर्ने यो गाडीमा रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै विकल्प रहने अपेक्षा छ ।

बीएमडब्ल्यू एक्स थ्री ३० एक्स ड्राइभ एम स्पोर्ट

चर्चित लग्जरी कार ब्राण्ड बीएमडब्ल्यूले एक्स थ्रीको अझ शक्तिशाली भेरियन्ट ३० एक्स ड्राइभ एम स्पोर्ट प्रो फेब्रुअरी १६ मा लन्च गर्ने भएको छ । कम्पनीले नयाँ भेरियन्टमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । जसले २५८ हर्ष पावर तथा ४०० न्युटन मिटर टर्क प्रदान गर्छ ।

स्पोर्टी एक्स्टेरियर डिजाइन र एम ब्याजिङ यसका मुख्य आकर्षण हुन् । इन्टेरियर लेआउट र फिचर सूची भने तल्लो एक्स थ्री भेरियन्टकै जस्तै रहने छ ।

 


Back_to_top