काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं/तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति झण्डै ४४ प्रतिशत पुगेको छ ।६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने २०७४ देखि सुरू गरिएको यस आयोजनाको ८ वर्षमा ४३.६६ प्रतिशत काम सकिएको हो ।
नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले २०८२ असोज मसान्तसम्म फास्ट ट्रयाकको समग्र भौतिक प्रगति ४३.६६ प्रतिशत पुगेको जानकारी दिए ।
त्यस्तै, आयोजनाको समग्र वित्तीय प्रगति ४४.८९ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म आयोजनामा समष्टिगत कुल ८२ अर्ब १७ करोड रुपैयाँ खर्च भएको उनले बताए । सोमध्ये १ अर्ब ६५ करोड जग्गा खरिद, ८२.३७ करोड निर्माण व्यवसायी र ९.८१ करोड विद्युत् प्राधिकरणलाई पेश्की दिइएको छ ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकलाई समष्टिगत कार्ययोजना अनुसार १३ वटा प्योकजमा छुट्याइएको छ । जसमा १२ प्याकेजको ठेक्का लागेर धमाधम काम भइरहेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । प्रस्थान बिन्दु खोकना-डुकुछाप (प्याकेज नं. ११) खण्डको ठेक्का लाग्न बाँकी रहेको उनले बताए ।
‘फास्ट ट्रयाकको समष्टिगत कार्ययोजना अनुसार १३ वटा प्योकजमा छुट्याइएको छ । जसमध्ये १२ प्याकेजको ठेक्का लगाई काम भइहरको छ । काठमाडौंतर्फको प्रस्थान बिन्दुमा जग्गा विवादका कारण ठेक्का लाग्न सकेको छैन । समस्या समाधानका लागि रक्षा मन्त्रालयले आवश्यक समन्यव गरिरहेको छ,’ उनले मेरोअटोसँग भने ।
हाल काम भइरहेका १२ प्याकेज मध्ये अधिकांशको प्रगति सुस्त छ । दुई प्याकेजको मात्र ५० प्रतिशत बढी काम सकिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्याकेज नं. २ को भौतिक प्रगति सबैभन्दा धेरै ६४.०३ प्रतिशत पुगेको छ । त्यस्तै, याकेज नं. ५ को ५१.५८ प्रतिशत, प्याकेज नं. ३ को ४७.०१ प्रतिशत, प्याकेज नं. ४ को ४१.३० प्रतिशत र प्याकेज नं. १ को ३४.६८३ प्रतिशत काम सकिएको छ । अन्य प्याकेजहरूको प्रगति भने २० प्रतिशतभन्दा कम छ ।
यस्तो छ प्याकेज अनुसार प्रगति
प्याकेज नं. १ (२४.८ देखि २९.१ कि.मि.) : ३४.६८३ प्रतिशत
प्याकेज नं. २ (२९.१ देखि ३३.७ कि.मि.) : ६४.०३ प्रतिशत
प्याकेज नं. ३ (४८.२ देखि ५५.८ कि.मि.) : ४७.०१ प्रतिशत
प्याकेज नं. ४ (५५.८ देखि ६३.६ कि.मि.) : ४१.३० प्रतिशत
प्याकेज नं. ५ (६३.६ देखि ७०.९ कि.मि.) : ५१.५८ प्रतिशत
प्याकेज नं. ६ (३८.१ देखि ४८.२ कि.मि.) : १९.१६ प्रतिशत
प्याकेज नं. ७ (३३.७ देखि ३८.१ कि.मि.) : १७.३९ प्रतिशत
प्याकेज नं. ८क (६.५ देखि ११.१ कि.मि.) : ४.५० प्रतिशत
प्याकेज नं. ८ख (११.१ देखि १६.१ कि.मि.) : ६.२७ प्रतिशत
प्याकेज नं. ९क (१६.१ देखि १८ कि.मि.) : २.३४ प्रतिशत
प्याकेज नं. ९ख (१८ देखि २०.७ कि.मि.) : २.२५ प्रतिशत
प्याकेज नं. १० (२०.७ देखि २४.८ कि.मि.) : १२.७७ प्रतिशत
प्याकेज नं. ११ : (०० देखि ६.५ कि.मि.) : ठेक्का लाग्न बाँकी
बजेटका आधारमा फास्ट ट्रयाक हाल निर्माणाधीन मध्ये सबैभन्दा ठूलो आयोजना हो । सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेको छ । तर, प्रगति भने निकै सुस्त छ ।
६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने २०७४ देखि सुरू गरिएको यस आयोजनाको ८ वर्षमा आधा पनि काम पूरा नभएको हो । तोकिएको समय २०८३ चैत भित्रै आयोजना सम्पन्न गर्न अब १८ महिनामा बाँकी ५६ प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । जुन असम्भव जस्तै देखिन्छ । यद्यपि, सेनाले भने लक्ष्य अनुसार नै काम सम्पन्न हुने विश्वास राखेको छ । निर्माणाधीन सुरूङमार्ग र पुल निर्माण सम्पन्न भएपछि भौतिक प्रगति ह्वात्तै बढ्ने सेनाको भनाइ छ ।
समय लम्बिँदै जाँदा आयोजनाको लाग पनि थपिएको छ । आयोजनाको सुरूआती लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा हाल बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
५ किमी सर्भिस लेन कालोपत्र, ९.३ किमीमा सबबेस
सूचना अधिकारी बस्नेतका अनुसार फास्ट ट्रयाकमा कालोपत्रको काम पनि सुरू भएको छ । उनका अनुसार असोजसम्म ५ किलोमिटर सर्भिस लेन कालोपत्र गरिएको छ । प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको राजदमह क्षेत्रमा सर्भिस लेन कालोपत्र गरिएको हो ।

त्यस्तै, ९.३ किमी सडकमा सबबेस राखिएको उनले बताए । प्याकेज नं. ३ र ५ को निजगढ क्षेत्रमा सबबेस राखिएको हो । बाराको निजगढ क्षेत्रमा एनिमल अण्डरपासको सबस्ट्रक्चर, टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको उनले जानकारी दिए । फास्ट ट्रयाकको बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एकरएक वटा इनटरचेञ्ज र ट्रोल प्लाजा निर्माण गरिनेछ ।
अन्य क्षेत्रमा पनि स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट, इलेक्ट्रीफिकेसन डक्ट निर्माण लगायत काम पनि सँगसँग भइरहेको छ ।
सात वटै सुरुङको काम हुँदै
फास्ट ट्रयाकका कुल १०.९७९ किलोमिटर लामो ७ वटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । यी दुवै सुरुङमा अहिले सेकेण्डरी लाइनिङ (भित्तो प्लाष्टर)को काम भइरहेको उनले बताए ।
धेद्रेमा दाँयातर्फ १६५३ मिटर र बाँयातर्फ १७२८ मिटरको सुरुङ रहेको छ । यसको हालसम्म बाँयातर्फ ९७३ मिटर र दाँयातर्फ ९५३.२० मिटर लाइनिङको काम समेत सकिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
त्यस्तै, फास्ट ट्रयाककै सबैभन्दा लामो महादेवटार सुरुङ खन्ने काम झण्डै दुई तिहाई पूरा भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार ३३५५ मिटर लामो यो सुरुङखन्ने काम करिब ६५ प्रतिशत पूरा भएको छ ।
महादेवटार सुरुङको बाँयातर्फ ३३८६ मिटर मध्ये हालसम्म २२८८ मिटर (६८ प्रतिशत) र दाँयातर्फ ३३२२ मिटरमध्ये २०२९ मिटर (६१ प्रतिशत) खनिसकिएको छ । चालु आव भित्रै यो सुरुङ ब्रेक थ्रु गरिने लक्ष्य राखिएको छ ।

त्यस्तै, महादेवटार सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइरहेको छ । हालसम्म दायाँतर्फ ९७०.३७ मिटर र बाँयातर्फ ३५१.७० मिटर सेकण्डरी लाइनिङको काम सकिएको उनले जानकारी दिए ।
लेनडाँडा, धेद्रे र महादेवटार सुरुङ पहिलोको डिजाइन अनुसार ठेक्का लगाइएका हुन् । चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीरमा पछि डिजाइन परिवर्तन गरी सुरुङमार्ग थपिएको हो । त्यसैले यी सुरुङमार्गको प्रगति कम रहेको छ ।
फास्ट ट्रयाकको दोस्रो लामो चन्द्राम भीर सुरुङको एकातर्फ मात्र खन्न सुरू गरिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार २२५० मिटर लामो यस सुरुङको हालसम्म ३०६ मिटर खनिसकिएके छ । अर्कोतर्फ खन्ने तयारी भइरहेको उनले बताए ।
१ हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र ५९४ मिटर लामो मौरीभीर सुरुङ भने खन्न सुरू भएको छैन । अहिले तीनै वटा सुरुङ खन्नका लागि पोर्टल तयारी काम भइरहेको उनले बताए ।
६ पुल निर्माण सम्पन्न
फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । फास्ट ट्रयाकमा ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलहरू निर्माण भइरहेको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार ८९ पुल मध्ये ८५ वटाको ठेक्का लागिसकेको छ । तीमध्ये अधिकांश पुलको फाउन्डेसन निर्माण सम्पन्न भई सुपरस्ट्रक्चरको काम भइरहेको छ । जसमा ५१ वटा पुलको फाउन्डेसन र २६ पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ । असोज मसान्तसम्म ६ वटा पुलको सुपरस्ट्रक्चर निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
प्रस्थान बिन्दुमै विवाद
फास्ट ट्रयाकको अन्य क्षेत्रमा काम भइरहे पनि प्रस्थान बिन्दुमै विवाद रहेको छ । डीपीआर अनुसार प्रस्थान बिन्दु खोकना क्षेत्र मानिएको छ । तर, स्थानीयले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन । खोकनाबासीले प्रस्थान बिन्दु ५ किमी पर डुकुछापमा सार्न माग गरिरहेका छन् ।
आयोजनाका लागि कुल १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण गनुपर्नेछ । जसमा व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।
हाल उक्त विवाद समाधनका लागि रक्षा मन्त्रालयले आवश्यक समन्वय गरी पहल गरिराखेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । उक्त विवाद समाधानका लागि मन्त्रिपरिषद्ले नीतिगत निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । द्रुतमार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर फराकिलो हुनेछ । आयोजना अन्तर्गत ललितपुरमा ९, काठमाडौँमा ४.६, मकवानपुर ४९.७७ र बारामा ७.६ किमी सडक रहनेछ ।
द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।


