जाम घटाउन काठमाडौंका १०७ चोक सुधार गर्न प्रस्ताव, यी २३ प्राथमिकतामा

काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी जाम घटाउन विभिन्न स्थानका १०७ वटा चोक सुधार तथा स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालय र जापानी सहयोग नियोग (जाइका)ले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा यस्तो प्रस्ताव गरिएको हो ।

मास्टर प्लान अनुसार चरणबद्ध रूपमा सन् २०४० सम्म १०७ वटा चोक सुधार गर्न प्रस्ताव गरिएको हो । पहिलो चरणमा सन् २०३२ सम्म २३ वटा र दोस्रो चरणमा २०४० सम्म थप ८४ चोक स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ । यसका लागि करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

चोक स्तरोन्नति अन्तर्गत पूर्वाधारतर्फ आइल्याण्ड, मिडियन, कर्ब याम्प, आकाशे पुल, बस स्टप, राइट टर्न लेन, राइट टर्न होल्डिङ निर्माण गर्नुपर्ने उल्लेछ । साथै, एक चोकबाट अर्को चोकसँग समन्वयन हुने गरी ट्राफिक लाइट जडान, सडक बत्ती जडान, सीसीटीभी क्यामेरा, रोडसाइड सेन्सर र सेन्ट्रल कन्ट्रोल प्रणाली स्थापना गर्न प्रस्ताव गरिएको छ ।

पहिलो चरणमा लैनचौर, केशरमहल, न्यूरोड, कालिमाटी, सुन्धारा, टेक, कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, डिल्लीबजार, सिंहदरवार, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, त्रिभुवन विमानस्थल, कोटेश्वर, जडीबुटी, ग्वार्को, गट्ठाघर, लोकन्थली, कौशलटार, सानोठिमी र ठिमी चोकको स्तरोन्नति गर्न प्रस्ताव गरिएको हो । यी चोकको स्तरोन्नति गर्न डेढ अर्ब रुपैयाँ खर्च हुनेछ ।

त्यस्तै, सन् २०४० सम्म थप ८४ चोक सुधार गर्न पौने ३ अर्ब, ट्राफिक सिग्नल जडान, रोडसाइड सेन्सर र केन्द्रीय नियन्त्रण प्रणाली स्थापन गर्न १ अर्ब रुपैयाँ बढी लागनेछ ।

चोक सुधारपछि बढ्दो ट्राफिक जाम कम हुने, ट्राफिक व्यवस्थापन सहज हुने र यात्रामा सहजता आउने अपेक्षा गरिएको छ ।


Back_to_top