उपत्यकाका ३ क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको छ ।

पूर्वाधार विकास मन्त्रालय र जापानी सहयोग नियोग (जाइका)ले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा यस्तो प्रस्ताव गरिएको हो ।

उपत्यकाको सहरी यातायात व्यवस्थापनलाई व्यवस्थित र पैदलयात्रीमैत्री बनाउन काठमाडौंको वसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरवार स्क्वायर क्षेत्रलाई कार फ्री जाने बनाउन सिफारिस गरिएको हो । यी क्षेत्रमा कार प्रवेश निषेध गरेपछि स्थानीय र पर्यटकले सुरक्षित र सहज पैदलयात्रा गर्न सक्ने विश्वास लिइएको छ ।

यी क्षेत्रमा कार फ्री जोन बनाउन आवश्यकता अनुसार ब्यारिकेड राख्ने प्रस्ताव गरिएको छ । साथै, कार फ्री जोनको सीमा रंगिन सडक चिह्न मार्फत स्पष्ट रूपमा छुट्याइने छ । जसका लागि १५ करोड रुपैयाँ बढी खर्च हुने अनुमान छ ।

मास्टर प्लान अनुसार वसन्तपुर दरबार स्क्वायर क्षेत्रको युनेस्कोले योजना तयार पारे पनि सीमांकन गरिएको क्षेत्रमा पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी छ । युनेस्कोले तोकेको क्षेत्रभित्र शीघ्र सवारीमुक्त वा पैदलयात्री क्षेत्र लागू गर्न सिफारिस गरिएको छ ।

त्यस्तै, काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेलमा दिनमा सवारी साधन प्रवेश निषेधको प्रस्ताव गरिएको छ । व्यापारिक तथा पर्यटकीय केन्द्र भएकाले यहाँ सामान ओसारपसार र ढुवानीलाई समेत मध्येनजर गर्दै बिहान ९स्०० बजेदेखि बेलुका ९स्०० बजेसम्म सवारी आवगमन निषेध गर्न प्रस्ताव गरिएको छ ।

पाटन दरबार स्क्वायर क्षेत्रका सडकलाई पैदलयात्रीमैत्री क्षेत्रका रूपमा विस्तार गर्न प्रस्ताव गरिएको छ । यसका लागि विभिन्न सडक वान वे बनाउने, मोटरसाइकल मात्र चलाउने दिने जस्तो योजना बनाइएको छ । यसको कार्यान्वयन ललितपुर महानगरपालिकाले गर्नेछ ।

त्यस्तै, उपत्यकाका विभिन्न क्षेत्रका ५८ किलोमिटर सडकमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव गरिएको छ । काठमाडौं र ललितपुरका हाल भएका र थप क्षेत्रमा साइकल लेन बनाउने प्रस्ताव गरिएको हो । विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड्ने योजना बनाइएको हो ।


Back_to_top