बन्द हुने भयो फियाटका दुई मोडल

भारतले सवारीसाधनमा नयाँ सुरक्षा र इमिशन स्ट्यान्डर्ड मापदन्ड कार्यान्वयन गर्ने तयारी गरेसँगै फियात पुन्टो र लिनियाँ दुई मोडलको बिक्री–वितरण बन्द हुने भएको छ ।

सरकारले २०२० को अप्रिल महिनाबाट नयाँ मापदन्ड लागुगर्ने भनेपनि यी दुई मोडलको बिक्री आगामी महिनाबाटै बन्द हुने भएको हो । फियात पुन्टो सन् २००९ को जुन महिनामा भारतीय बजारमा आएको थियो ।

कम्पनीले सन् २०१४ यसको फेसलिफ्ट भर्सन सार्वजनिक गरिएको थियो । साथै, यसको क्रशओभर भर्सन, एभेन्चूरा २०१४ को अक्टोबरमा लन्च भएको थियो । फियाट लिनियाँ पनि सन् २००९ को जनवरीदेखिनै भारतीय बजारमा आएको थियो ।

नेपाली बजारमा पनि फियाटको पुन्टो र लिनियाँ बिक्री हुँदै आएकोमा पछिल्लो एक वर्षदेखि यी दुबै मोडल नेपाली बजारमा आएका छैनन् । नेपाली बजारमा फियाटको बिक्रेता एमएडब्ल्यु लाईफले अहिले जीपको बिक्री वितरण गर्दै आएको छ । 

बिक्री रेकर्डमा भारतीय बजारमा २०१८ मेदेखि अक्टोबरको बीचमा पनि फियाट पुन्टो–५५ र लिनियाँ १२ युनिटमात्र बिक्री भएको छ । बिक्रीमा आएको गिरावट र नयाँ सुरक्षा मापदन्डबमोजिम कारलाई परिमार्जन गर्न कम्पनीले चासो नदेखाएकाले बन्द हुने अबस्था आएको हो ।


Back_to_top