काठमाडौं । सरकारले काठमाडौंको कोटेश्वरमा इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारसँग ३० अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण लिने निर्णय गरेको छ ।
भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले जापानसँग ३४ अर्ब ४९ करोड येन (करिब ३० अर्ब ८ करोड रुपैयाँ) ऋण लिने निर्णय गरेको हो ।
कोटेश्वर उपत्यकाको अहिले सबैभन्दा धेरै जाम हुने चोक हो । त्यहाँ जाम हटाउन सरकारले नयाँ योजना अघि बढाउन लागेको हो ।
इन्टरसेक्सन सुधार अन्तर्गत फ्लाइओभर/ओभरपास, अन्डरपास, सडक चौडा पार्ने लगायत संरचना निर्माण गरिन्छ ।
सडक विभागका अनुसार तीनकुनेदेखि जडीबुटीसम्म समेटर आयोजना अघि बढाउन लागिएको हो । कोटेश्वर र जडीबुटी चोकमा फ्लाइओभर/सुरुङमार्ग जस्ता संरचना बनाइने छ । यद्यपि, कुन ठाउँमा कस्तो संरचना बन्छ भन्ने विस्तृत डिजाइनपछि मात्रै थाहा हुने विभागको भनाइ छ ।

