फोर्डले भारतमा ३२.५ अर्ब लगानी गर्दै, गर्ला कार उत्पादन ?

काठमाडौं । भारतीय बजारबाट बाहिर निस्केको ४ वर्षपछि फोर्डले पुनः लगानी गर्ने घोषणा गरेको छ । अमेरिकी कम्पनी फोर्ड मोटरले भारतमा ३७ करोड डलर (३२.५ अर्ब भारतीय रुपैयाँ) लगानी गर्ने घोषणा गरेको हो ।

फोर्डले भारतको तामिलनाडूमा रहेको आफ्नो प्लाण्टबाट महँगा गाडीमा प्रयोग हुने इन्जिन उत्पादन गर्न भएको हो । उक्त प्लाण्टबाट कम्पनीले वार्षिक २ लाख युनिट इन्जिन उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने जनाएको छ ।

अमेरिकी कार उत्पादकले सन् १९९५ मा पहिलो पटक भारतमा प्लाण्ट स्थापना गरेको थियो । जुन प्लाण्ट तामिलनाडूमा थियो । त्यसपछि सन् २०१५ मा गुजरातको सानान्दमा दोस्रो प्लाण्ट बनायो ।

साना गाडी फिगो, इकोस्पोर्ट, फियस्टा, फ्रिस्टाइल जस्ता चर्चित मोडल भारतमा बनाएर स्थानीय बजार र विदेशमा समेत निर्यात गर्दै आएको फोर्डले अचानक २०२१ मा उत्पादन ठप्प पारेको थियो । कम्पनीले बढ्दो घाटालाई देखाउँदै त्यति बेला उत्पादन रोकेको हो । बन्द गर्दा २ अर्ब डलर घाटामा रहेको बताइन्छ ।

उत्पादन बन्दसँगै फोर्डले गुजरातको प्लाण्ट टाटा मोटर्सलाई बिक्री गरेको थियो । उक्त प्लाण्टबाट अहिले टाटाका इलेक्ट्रीक कारहरू उत्पादन हुँदै आएका छन् । फोर्डले सुरूमा स्थापना गरेको तामिलनाडूको प्लान्ट अझै कम्पनीकै स्वामित्वमा रहेको छ । यही प्लाण्टबाट अब इन्जिन उत्पादन गर्ने योजना सार्वजनिक भएको हो ।

भारतीय बजारमा अझै फोर्डले लगानी गर्नुको पछाडि कार उत्पादन गर्छ कि गर्दैन भन्ने चासो बढाएको छ । भारतमा कम मूल्यका कार उत्पादन गर्नुपर्ने अवस्था छ । तर, फोर्ड इन्जिन पनि महँगा गाडीलाई बनाउन चाहन्छ । त्यसैले फोर्डका कार तत्काल भारतमा बन्ने सम्भावना न्यून रहे पनि कहिल्यै बनाउँदै भन्न सकिँदैन । किनभने भारत विश्वकै तेस्रो ठूलो कार बजार बनिसकेको छ ।


Back_to_top