काठमाडौं । वार्षिक ४० लाख कार बिक्री हुने देशमा पनि धेरै कर ब्राण्ड टिक्न सक्दैनन् । त्यसको पछिल्लो उदहारण भारत बनेको हो ।
विश्वको चौथो ठूलो कार बजार भारतमा स्थानीय ब्राण्डको वर्चश्व बढ्दै जाँदा अन्तर्राष्ट्रिय ब्राण्डहरूलाई टिक्नै मुश्किल हुँदै गएको छ । त्यसैले पछिल्लो एक दशकमा दुई अमेरिकी, एक पुरोपियन र एक जापानी ब्राण्डले भारत छाडे ।
अहिले भारतमा मासिक ३ लाख ६० हजार आसपास कार बिक्री हुन्छ । जसमा मारुती सुजुकी, महिन्द्रा, टाटा जस्ता ब्राण्ड निकै बलियो छन् । जुन भारतीय ब्राण्डकै रुपमा स्थापित छन् । दक्षिण कोरियाली ब्राण्ड हुन्डाई र किया तथा जापानी ब्राण्ड टोयोटालाई छाड्ने हो भने अन्य विदेशी ब्राण्डको बिक्री नगन्य मात्रै छ ।
सुरूवाती दिनमा राम्रो संख्यामा कार बिक्री गरिरहेका होन्डा, रेनो, निसान, जीप जस्ता ब्राण्ड पनि क्रमिक रूपमा कमजोर बन्दै जाँदा अमेरिकी ब्राण्ड जनरल मोटर्सको सेभ्रोले र फोर्डले भारत छाडे । साथै जापानी ब्राण्ड डाट्सन र युरोपियन ब्राण्ड फियाटले आफ्नो उत्पादन बन्द गरेको थियो ।
बढ्दो बजारमा रहेको आफ्नो उत्पादन प्लाण्टहरू नै बन्द गरेर निस्केका कम्पनीहरूको आर्थिक अवस्था र भारतमै रहेका अन्य युरोपियन र जापानी ब्राण्डको बिक्री हेर्दा अबको केही वर्षमा थप ब्राण्ड बन्द हुने सहजै अनुमान लगाउन सकिन्छ ।
पछिल्लो दशकमा उत्पादन बन्द गर्ने चार कम्पनीको बारेमा तल चर्चा गरिएको छ ।
डाट्सन
सस्तो कार खोज्ने उपभोक्तालाई ध्यानमा राखेर जापानी ब्राण्ड डाट्सन भारत आएको थियो । निसानको स्वामित्वमा रहेको डाट्सन लामो समय टिक्न सकेन ।

ड्याट्सनले भारतमा कम मूल्य र बढी माइलेज दिने कार लन्च गरेको थियो । तर, कमजोर गुणस्तर तथा कम फिचर भएको कारण यसले बजारमा सोचे जस्तो ग्राहक पाउन सकेन ।
अर्को ठूलो भारतमा डाट्सनको सर्भिस पनि कमजोर भयो । ग्राहकहरूले पाट्स र सर्भिस समयमै पाउनै सकेनन् । कमजोर बजार भएसँगै सन् २०२२, अप्रिलबाट डाट्सनले आफ्नो भारतीय उत्पादन बन्द गर्ने निर्णय लियो ।
फोर्ड
अमेरिकी कार निर्माता फोर्डले अचानक भारतमा उत्पादन बन्द गर्ने घोषणा गरेको थियो । ठिकठाक कार बिक्री भए पनि बढ्दो घाटाको कारण फोर्डले भारतको उत्पादन बन्द गरेको हो ।

फोर्डका कार ‘स्ट्रङ बिल्ड क्वालीटी’ र उच्च इन्जिन पफर्मेन्सका कारण धेरैले रुचाएका थिए । फोर्डले नै नेपाली बजारमा इकोस्पोट्स लन्च गरेर कम्प्याक्ट एसयूभीको प्रचलन सुरू गरेको थियो । भारतै बनेको लग्जरी सेग्मेन्टको फोर्ड इन्डेभर, ह्याचब्याक सेग्मेन्टमा फिगो र क्रसओभर सेग्मेन्टमा फ्रिस्टाइल धेरै बिक्री भएका मोडलहरू हुन् ।
फोर्डलाई स्थानिय ब्राण्ड टाटा मोटर्स र महिन्द्राले राम्रो प्रतिस्पर्धा दिए । साथै, नयाँ मोडलका कार ल्याउन निकै ढिला गरेका कारण फोर्डमा अप्सन नपाएर धेरै ग्राहक अन्य ब्राण्डमा सिफ्ट भएको मानिन्छ । फोर्डले २ बिलियन डलर नोक्सानी भएसँगै सन् २०२१ को डिसेम्बरमा भारतको उत्पादन पूर्ण रूपमा बन्द गरेको थियो । फोर्डको पनि भारतमा दुई प्लान्ट थिए । त्यसमा एउटा बिक्री गरेको छ भने अहिले पनि एउटा प्लाण्ट राखेको छ ।
फियाट
इटालियन कार ब्राण्ड फियाटले भारतमा सन् १९९६ मा पहिलो कार उत्पादन गरेको थियो । फियाट पनि ठ्याक्कै भारतमा २१ वर्ष टिक्यो । पुन्टो, एभेन्चुरा, लिनिया जस्ता मोडल फियाटले भारतमा उत्पादन गरेर बिक्री गरेको थियो ।

प्रतिस्पर्धामा टिक्न मुस्किल भइरहेकै समयमा आएको नयाँ प्रदूषण मापदण्डका कारण उसले सन् २०१९ मा भारतमा उत्पादन बन्द गर्ने निर्णय लियो । फियाटले आफैँ कार उत्पादनसँगै मारुती सुजुकी, टाटा मोटर्स, सेब्रोले जस्ता कम्पनीलाई इन्जिन उत्पादन गरेर बिक्री गर्दै आएको थियो ।
फियाटले भारतमा बनाएको १.३ लिटर मल्टीजेट इन्जिनलाई नेशनल इन्जिन भन्ने गरिन्थ्यो । उक्त इन्जिन विभिन्न कम्पनीका २४ मोडलमा प्रयोग भएको थियो ।
सेभ्रोले
पछिल्लो दशकमा सबैभन्दा पहिला भारतमा आफ्नो उत्पादन बन्द गर्ने अमेरिकी कार कम्पनी जनरल मोटर्सको सिस्टर ब्राण्ड सेभ्रोले हो । सेभ्रोलेले भारतमा टाभेरा, क्रुज, स्पार्क र बिट जस्ता लोकप्रिय मोडल बनाउँथ्यो । यी मोडल नेपालमा पनि ठूलो संख्यामा बिक्री भएका थिए ।

अहिले पुराना कारले भनेको समयमा सर्भिस र पार्टस् पाउँदैनन् । सेभ्रोलेले भारतमा उत्पादन बन्द गरेको झण्डै ९ वर्ष हुन लागिसकेको छ । कम्पनीले सन् २०१७ मा उत्पादन बन्द गरेको थियो । सेभ्रोलेका कार २१ वर्ष भारतमा उत्पादन भए ।
उसँग भारतको पुणे र गुजरातमा गरि दुईवटा प्लाण्ट थियो । भारतमा मारुती सुजुकी र हुन्डाईले बनाएका किफायती र धेरै माइलेज दिने कारहरूको अगाडि सेभ्रोले टिक्न सकेन । त्यही समयमा नयाँ प्रदूषण मापदण्ड आएपछि उसले उत्पादन नै बन्द गरेको हो ।

