काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको झण्डै ३ किलोमिटर खण्डमा अस्थायी डाइभर्सन निर्माण भएको छ ।
बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीतर्फ गरी ४८०० मिटर डाइभर्सन बगाएकोमा हाल (बिहीबार बिहान ११ बजे)सम्म करिब ३ किमी निर्माण भएको हो । सिन्धुलीतर्फ सबै ठाउँमा र काभ्रेतर्फ ७ ठाउँमा डाइभर्सन निर्माण सकिएको हो ।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले काभ्रेतर्फ १५ स्थानमा डाइभर्सन बगाएकोमा हालसम्म ७ ठाउँमा निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार चौकीडाँडा, कटुन्जे, घुमाउने, डल्लाबेँसी, कालढुंगा, नार्के र गिम्तीबेँसीमा डाइभर्सन निर्माण सकिएको हो ।
बाँकी ठाउँमा अहिले धमाधम डाइभर्सन निर्माण भइरहेको उनले बताए । विभिन्न खण्डमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको उनले बताए । भोलि (शुक्रबार बेलुकासम्म सबै ठाउँमा डाइभर्सन सकी सडक संचालनमा ल्याइने उनले बताए ।

‘अहिले धमाधम डाइभर्सन निर्माण भइरहेको छ । हालसम्म ७ स्थानमा झण्डै २ किमी निर्माण भइसक्यो । बाँकी ठाउँमा पनि तीव्र गतिमा काम भइरहेको छ । २४ वटा उपकरण प्रयोग भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘भोलि बेलुकासम्म डाइभर्सन निर्माण सकी राजमार्गमा सवारी संचालनमा ल्याउँछौं ।’
सिन्धुलीतर्फ डाइभर्सन निर्माणको काम लगभग सकिएको छ । सडक डिभिजन खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले सिन्धुलीतर्फ बाढीले बगाएको करिब ८०० मिटर डाइभर्सन निर्माण भइसकेको जानकारी दिए । उनले सिन्धुलीको नेपालथोक, बालुवा र आँपघारीमा डाइभर्सन निर्माण गरिएको बताए ।
‘सिन्धुलीतर्फ नेपालथोक र बालुवामा करिब ८०० मिटर डाइभर्सन बगाएको थियो । सबै निर्माण भइसक्यो । अब एक/डेढ घण्टामा सवारी साधन सुचारु गरिन्छ,’ उनले मेरोअटोसँग भने ।
उनका अनुसार अब बीपी राजमार्गमा सिन्धुलीबाट काभ्रेको सीमाना बर्खेखोलासम्म यात्रा गर्न सकिन्छ ।

