बाढीले बीपी राजमार्गको ४८०० मिटर बढी सडक बगायो, कुन ठाउँमा कति ?

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको ४८०० मिटर बढी सडक (अस्थायी डाइभर्सन) बगाएको छ ।

बाढीले काभ्रेपलाञ्चोकतर्फ ४००८ मिटर र सिन्धुलीतर्फ करिब ८०० मिटर डाइभर्सन बगाएको हो ।

२०८१ असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गको चौकीडाँढादेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । साेमध्ये पूरै सडक बगाएको करिब ९ किमी बढी खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सवारी संचलनमा ल्याइएको थियो । अहिले बाढीले उक्त डाइभर्सन मध्ये अधिकांश भाग बगाएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार काभ्रेतर्फको चौकीडाँडादेखि बर्खेखोला खण्डमा मात्रै ४००८ मिटर डाइभर्सन बगाएको छ । यस खण्डमा गत वर्ष निर्माण गरिएको ५२४० मिटर डाइभर्सन मध्ये अहिले ४००८ मिटर बगाएको हो । विभिन्न १५ स्थानको डाइभर्सन बगाएको हो । यसखण्डमा गत वर्ष बगाएको बाहेक यस वर्ष थप ६० मिटर सडक कटान गरेको छ ।

कार्यालयकी सूचना अधिकारी बिन्दु अधिकारीले बाढीको बहाव घट्ने बित्तिकै बाढीले बगाएको डाइभर्सन निर्माण थालिने बताइन् । ‘अहिले पनि रोशीमा बाढी आइरहेकै छ । तर, बहाव क्रमशः घट्टो छ । बाढी रोकिने बित्तिकै सडक निर्माणलाई तीव्रता दिइन्छ,’ उनले मेरोअटोसँग भनिन्, ‘ठेक्का लागेको खण्डमा सम्बन्धित ठेकेदार कम्पनीहरुले नै पुनः डाइभर्सन बनाउने छन् ।’ ठेकेदारहरूले उपकरणहरू तयारी अवस्थामा राखेको उनले जानकारी दिइन् ।

त्यस्तै, रोशीले सिन्धुलीतर्फ विभिन्न ठाउँमा करिब ८०० मिटर सडक बगाएको सडक डिभिजन खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले जानकारी दिए ।

‘सिन्धुलीतर्फ ठ्याक्कै कति मिटर बगायो तथ्यांक आइसकेको छैन । गत वर्ष बनाएको डाइभर्सन मध्ये लगभग सबै जस्तो बगाएको देखिन्छ । बर्खेखोलादेखि नेपालथोकसम्मको विभिन्न ठाउँमा करिब ८०० मिटर सडक बगाएको अनुमान छ । ,’ उनले मेरोअटोसँग भने ।

अहिले थप सडक कटान रोक्न काम थालिसकिएको र खोलाको बहाव घट्ने बित्तिकै डाइभर्सन निर्माणको काम थालिने जानकारी दिए ।

कुन ठाउँमा कति बगायो सडक ?

सडक डिभिजन भक्तपुरले हेर्न काभ्रेको चौकीडाँडादेखि बर्खेखोलासम्म १५ ठाउँमा बाढीले डाइभर्सन बगाएको छ । कार्यालयका अनुसार काभ्रेतर्फ मम्तीखोलाको दुई खण्डमा ४०० र २२५ मिटर।, तल्लो पिप्लेमा २२० मिटर, माथिल्लो पिप्लेमा २२० मिटर, पिप्लेमा ३६२ मिटर, डल्लाबेँसीमा ८४१ मिटर, कालढुंगामा २५ मिटर, भ्याकुरेखोलमा ६० मिटर, बोक्सीकुनामा २०० मिटर, चिउरीबास झाँगमा २०० मिटर डाइभर्सन बगाएको छ ।

त्यस्तै, नर्केमा ५० मिटर, गिम्तीबेँसीमा १०० मिटर, चारसयबेँसीमा ३८० मिटर, कटुन्जेबेँसीम ३०० मिटर, चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा २० मिटर डाइभर्सन बगाएको सडक डिभिजनले जनाएको छ ।

त्यस्तै, सिन्धुलीतर्फ बर्खेखोला-नेपालथोक खण्डको विभिन्न ठाउँमा ८०० मिटर सडक बगाएको हो ।


Back_to_top