सधैका लागि बन्द हुँदै यी ४ मोटरसाइकल, नेपालमा यस्तो छ मूल्य

काठमाडौं । कुनै पनि उत्पादन सधैका लागि हुँदैनन् । समय, काल र पस्थिति अनुसार नयाँ बन्ने र पूरानो नष्ट हुने नियम मुताविक भारतीय बजारमा उत्पादन भएका केही मोटरसाइकल तथा स्कुटरहरु अब सधैको लागि बन्द हुने भएका छन् ।

यस्तोमा रोयल इन्फिल्ड र होन्डाले आफ्ना केही मोडलको उत्पादन बन्द गर्ने भएका हुन् । होन्डाले आफ्ना २ मोडलको उत्पादन बन्दगर्दा रोयल इन्फिल्डले पनि आधिकारीक रुपमै दुई मोडलको उत्पादन बन्द गर्ने भएको हो ।

विशेषत भारत सरकारले ल्याएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा अपग्रेड गर्नु पर्ने भएकाले यसलाई बन्द गर्न लागिएको हो । साथै, यी मोडलको बिक्रीमा आएको कमीका कारण कम्पनीले यसलाई अब उत्पादन नगर्ने जानकारी दिएका छन् ।

अहिले नेपाली बजारमा बिक्री वितरण हुँदै आएका यी ४ वटै मोडल उत्पादन बन्द हुने भएपछि नेपाल नआउने भएका हुन् । अब उत्पादन नै बन्द हुने भएपछि यी मोटरसाइकल केही समय पछिबाट नेपाली बजारमा उपलब्ध हुने छैनन् ।

रोयल इन्फिल्ड क्लासिक ५००

 

रोयल इन्फिल्डले ५०० सीसी क्षमताको क्लासिक ५०० बन्द गर्ने भएको हो । कम्पनीले ५०० सीसी क्लासिकको बिक्रीमा गिरावट आएकाले बीएस ६ इन्जिनमा नल्याउने भएको हो । अहिले नेपाली बजारमा यो मोटरसाइकल ६ लाख ६१ हजार रुपैयाँ मूल्य तोकेर बिक्री वितरण हुँदै आएको छ ।

रोयल इन्फिल्ड बुलेट ५००

रोयल इन्फिल्डले बन्द गर्ने अर्को मोटरसाइकल हो बुलेट ५०० । कम्पनीले ३५० सीसी क्षमताको मोटरसाइकलमा ध्यान दिने योजना अनुरुप यो मोटरसाइकलको उत्पादन बन्द गर्ने भएको हो । बुलेट ५०० नेपाली बजारमा बिक्री वितरण भइरहेको मोटरसाइकल हो । नेपाली बजारमा यसको मूल्य ५ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

होन्डा नेभी

होन्डाले बीएस ६ इन्जिनमा अपग्रेड नगर्ने घोषणा गरेको नेभी बीएस ४ मापदण्ड लागु भएका देशमा निर्यात गर्न उत्पादन गर्ने जनाएको छ । सुरुमा यसको उत्पादन बन्द गर्ने भनिएपनि दक्षिण अमेरिकी देशमा रहेको उच्च मागका कारण यसको उत्पादनलाई केही समय निरन्तरता दिने जनाइएको छ । यसको नेपाली बजारमा मूल्य १ लाख ५४ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण हुँदै आएको छ ।

होन्डा सिबीआर २५० आर

होन्डाले आफ्नो चर्चित मोटरसाइकल सिबीआर २५० आर पनि बीएस ६ मा अपग्रेड नगर्ने भएको छ । कम्पनीले यसलाई अझ प्रतिस्पर्धी बनाउन २५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको बताएको छ । सोही कारण यो मोडलको उत्पादन बन्द गर्न लागिएको हो । नेपाली बजारमा उपलब्ध यो मोटरसाइकलको मूल्य ७ लाख ७८ हजार रुपैयाँ रहेको छ ।


Back_to_top