चारपाँग्रे राइड सेयरिङ ५० किमीसम्म मात्रै जान पाउने

काठमाडौं । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा प्रदान गर्ने चारपाँग्रे सवारी साधन यात्रु बोकेर ५० किलोमिटरसम्मको दुरीमा मात्रै जान पाउने भएका छन् ।

गण्डकी प्रदेश, मन्त्रिपरिषद्को माघ ४ गते बसेको बैठकले राइड सेयरिङ तथा सेल्भ ड्राइभ सम्बन्धी नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रदेशले यसअघि ल्याएको नियमावलीमा चारपाँग्रे सवारीको हकमा कुनै दुरीको सीमा तोकेको थिएन । अहिले संशोधन गर्दै ५० किमी तोकेको हो । दुईपाँग्रे सवारी साधनको हकमा भने २० किलोमिटरसम्म जान पाउने व्यवस्था थयावत राखिएको छ ।

त्यस्तै, राइड सेयरिङ सेवा प्रदान गर्ने चारपाँग्रे सवारी साधन ५ सिट क्षमताको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि सिट संख्या पनि किटान गरिएको थिएन ।

त्यस्तै, बैठकले यसअघि स्थगित राइड सेयरिङ नियमावली पुनः कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । प्रदेश सरकारले २०८२ वैशाख ३० गते राइड सेयरिङलाई कानुनी मान्यता दिँदै नियमावली पारित गरेको थियो ।

प्रदेशको उक्त निर्णय विरुद्ध सार्वजकि यातायात व्यवसायीले २०८२ जेठ १७ देखि गण्डकी र १९ गतेदेखि देशभर यातायात ठप्प पारेका थिए । केन्द्र सरकारको अनुरोधपछि प्रदेश सरकारले जेठ २० गते १ महिनाका लागि उक्त नियमावली स्थगित गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारले गत जेठदेखि स्थगित नियमावलीमा अहिले सामान्य संशोधन गरेर फेरि कार्यान्वयनमा लैजाने भएको हो ।


Back_to_top