काठमाडौं । मुग्लिन पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्ड (आँबुखैरेननी-जामुने) सडकको थौथो पटक म्याद थपिएको छ ।
यसअघि ३ पटक म्याद थप्दा पनि आयोजनाको काम पूरा हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्तिम पटकका लागि ३ महिना म्याद थपेको हो ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले आगामी असोज २५ गतेसम्म म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार यस खण्डको तेस्रो पटक थपिएको म्याद गत असार २९ गते सकिएको थियो ।
पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । कालोपत्र बाहेकका रङरोगन लगायत केही काम बाँकी रहेकाले म्याद थपिएको उनले बताए ।
‘पूर्वी खण्डमा कालोपत्रको सबै काम सकिएको छ । दमौली बजारमा ६ लेन र अन्य ठाउँमा ४ लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब थोरैमात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका थियौं । सोही अनुसार थप भएको हो ।’
सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनमा कालोपत्रको काम सकिएको उनको भनाइ छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो ।
विसं २०२६ सालमा रेखांकन गरिएको यो सडक अहिले एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा स्तरोन्नति गरिएको हो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको थियो ।


