चितवनमा सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

काठमाडौं । चितवनमा सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा करिब ७० जनाको सहभागिता थियो ।

नासा नेपालका परियोजना तथा वैदेशिक मामिला संयोजक सुवास भट्टराई र प्रशासन तथा मोबिलिटी व्यवस्थापक किरण धितालले संस्थाद्वारा भरतपुर महानगरपालिका क्षेत्रमा सम्पन्न गरिएको सार्वजनिक यातायात सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रतिवदेनमा राय तथा सुझाव संकलन गरे ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्री राज शर्माले ट्राफिक नियम, कानुन तथा चितवन जिल्लामा सार्वजनिक यातायातको वर्तमान अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन जिल्लामा सञ्चालित सार्वजनिक यातायात समिति, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ, बागमती प्रदेश अटोमोबाइल्स संघ र भरतपुर महानगरपालिकाका प्रतिनिधि, उद्योग व्यवसायी, सार्वजनिक सवारी चालक, सहचालक, युवा र विद्यार्थीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमा सार्वजनिक यातायात समितिका पदाधिकारी तथा प्रतिनिधि मित्रराज केसी, चिनीबहादुर बोहोरा, कृष्णप्रसाद लम्साल, कृष्णप्रसाद खनाल लगायतले जिल्लाको सार्वजनिक यातायात क्षेत्रका विद्यमान चुनौती, समस्या तथा सुधारका सम्भावनाहरूबारे आफ्नो धारणा राख्दै सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए ।


Back_to_top