मूल्य, फिचर र पावरमा FZS V3 भन्दा बलियो पल्सर N160

काठमाडौं । यामाहा FZ V3 नेपालमा चर्चित मोटरसाइकल हो । त्यस्तै पल्सर हरेक यूवाको पहिलो रोजाइमा पर्ने पावरफुल मोरसाइकलको रुपमा परिचित छ । यी दुबै मोटरसाइकल एउटै सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालमा १२५ सीसी सेग्मेन्टपछि धेरै बिक्री हुने सेग्मेन्ट १५०/१६० सीसी सेग्मेन्ट हो । यो सेग्मेन्टमा यामाहा माइलेजको कारण चर्चित छ । तर, बजाज N160 को पावर र फिचर एफजेड भी ३ लाई कडा प्रतिस्पर्धा दिइरहेको छ ।

स्टाइल, पावर, फिचर र मूल्यको लडाईमा देखिएका यी दुई मध्ये तपाई कुनै एक किन्ने योजनामा हुनुहुन्छ भने हामीले यी दुई बीचको अन्तर खोतल्ने प्रयास गरेका छौं । जसले तपाईलाई दुई मध्ये एक छनोट गर्न सजिलो बनाउने छ ।

इन्जिन

बजाजका मोटरसाइकलहरु सधै पावरका कारण चर्चामा छन् । बजाजले पावर पर्फमेन्सलाई नै ध्यानमा राखेर मोटरसाइकल बनाउँदै आएको छ ।

बजाज N160 मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन छ । उक्त इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ ।

यामाहा FZ v3 मा १४९ सीसी सिगंल सिलिन्डर फ्यूल इन्जेक्टेड इन्जिन उपलब्ध छ । यसले १३ पीएस पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै मोटरसाइकलमा ५ स्पीड गियरबक्स रहेको छ ।

यदि तपाईको पहिलो रोजाई पावर हो भने तपाईको छनोट पल्सर N160 हुनसक्छ । यसको पावर एफजेड भीको तुलनामा ३ पीएस धेरै छ ।

ह्वील/ब्रेक

यी दुबै मोटरसाइकलमा १७ इन्चको ट्यूवलेस टायर उपलब्ध छ । बजाज र यामाहाले ले नै ड्यूल डिस्क ब्रेक दिएका छन् ।

बजाजले N160 को फ्रन्टमा ३०० र रियरमा २३० एमएमको डिस्क दिएको छ । तर, यामाहाले FZ V3 को फ्रन्टमा २८२ र रियरमा २२० एमएम साइजको डिस्क प्रयोग गरेको छ ।

बजाजले डबल च्यानल एबीएस दिँदा यामाहाले सिंगल च्यानल एबीएस मात्रै दिएको छ । समग्रमा डिस्क साइज र डबल च्यान एबीएस भएको कारण सुरक्षा फिचरमा पनि बजाज अब्बल देखिन्छ ।

सस्पेन्सन/ग्राउन्ड क्लियरेन्स

यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन छ । बजाजले मोनोशक विथ निट्रोक दिँदा यामाहाले ५ स्टेप एडजष्टेवल मोनोक्रस सस्पेन्सन दिएको छ । यी दुबै मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

इन्धन/माइलेज

यामाहा FZ V3 मा १३ लिटर क्षमताको इन्धन ट्याङ्क छ । बजाज N160 मा १४ लिटर क्षमताको इन्धन ट्याङ्क पाइन्छ । भारतीय अटोमोटिभ रिर्चस एशोसिएसन अफ इन्डिया (एआरएआई) का अनुसार यामाहा FZ V3 ले ५५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

बजाज पल्सर N160 मा १ लिटर पेट्रोल हालेर ५२ किलोमिटर चलाउन सकिने एआरएआईको रिपोर्टले देखाउँछ । सडकमा भने N160 को तुलनामा केही बढी माइलेज FZ V3 ले दिन्छ ।

मूल्य

नेपाली बजारमा यामाहाको मोटरसाइकल विक्री गर्दै आएको कम्पनी एमएडब्ल्यू राइडस् प्रालिले FZ V3 डिलक्सको मूल्य ४ लाख ४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

त्यस्तै, बजाज मोटरसाइकल विक्री गर्ने कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले N160 को मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । मूल्यमा बजाजले ११ हजार रुपैयाँ कम मूल्य राखेको छ ।


Back_to_top