बिपी हाइवेमा एक दर्जन बढी ठाँउमा चार्जिङ स्टेशन, थपिदै इलेक्ट्रीक गाडी

काठमाडौं । काठमाडौंलाई पूर्व जोड्ने सबैभन्दा छोटो बिपी राजमार्गमा अहिले विद्युतीय साधनको ओहोर दोहोर राम्रै संख्यामा हुन्छ । साँघुरो बाटोमा किफायती विद्युतीय गाडी सबै ब्यवसायीको रोजाईमा पर्न थालेको हो ।

यस क्षेत्रमा नयाँ पेट्रोलबाट चल्ने माइक्रोबस थपिन बन्द भइसकेको ब्यवसायीहरु बताउँछन् । यहि बाटोमा यातायात व्यवसाय गर्दै आएका शान्तीराम भट्टराई भन्छन्, ‘विद्युतीय गाडी कम खर्च, चलाउन सजिलो र छिटो पनि हुने भएको कारण नयाँ पेट्रोल गाडी कसैले पनि किन्दैनन् ।’

विद्युतीय गाडीको संख्या थपिदै गएसँगै बिपी राजमार्ग अन्तर्गत सिन्धुली–बर्दिवास सडकखण्डको गौरीडाँडा, सिन्धुली बसपार्क, पानीट्याङ्की, मल्लागाउँ, चियाबारीमा गाडी चार्ज गर्न सकिन्छ । त्यस्तै, खनियाँखर्क, खुर्कोट, मूलकोट, रामटार, आँपघारी, देवीस्थान, मंगलटार लगायत एक दर्जन बढी स्थानमा चार्जिङ स्टेशन छन् ।

उसोत बिपी हाइवेमा मात्रै नभएर २०० किलोमिटरभन्दा छोटो दुरीका राजमार्गमा विद्युतीय माइक्रो भ्यानले पेट्रोल माइक्रो बसलाई बिस्थापन सुरु गरिसकेको देखिन्छ ।

अहिले विपी राजमार्गको अलावा अरनिको हाइवे, छहरे-टोखा, काठमाडौं-धादिङ, काठमाडौं-चितवन, काठमाडौं-हेटौडा, बिरगंज-हेटौंडा-चितवन जस्ता रुटमा विद्युतीय माइक्रो भ्यानको प्रयोग तिब्र गतिमा बिस्तार भएको छ ।

यसरी विद्युतीय भ्यानको प्रयोग बढेसँगै निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणले आ-आफ्नै तरिकाले चार्जिङ स्टेशन निर्माण सुरु गरेका छन् । जसको परिणाम देशभर चार्जिङ स्टेशन निर्माणको लहर चलेको छ ।

अहिले बजारमा माइक्रो भ्यान बिक्री गर्दै आएका कम्पनीहरु सिजी मोटर्स, दिगो ग्रुप, एमएडब्लू वृद्धि, पुजा कन्ट्रक्सन, सशिला मोटर्स, आर्कष ग्रुप लगायतका कम्पनीले चार्जिङ स्टेशन निर्माणको योजना बनाएका हुन् । केही कम्पनीले धमाधम चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् ।


Back_to_top