जनरल मोटर्सले दर्ता गर्यो सडक बिग्रनु पहिल्यै थाहा हुने प्रविधिको पेटेन्ट

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले सडकको अवस्था बिग्रिन थाल्नु पहिल्यै पहिचान गर्न सक्ने प्रणालीको लागि पेटेन्ट आवेदन दर्ता गरेको छ।

कम्पनीले सन् २०२३ डिसेम्बर १५ मा दर्ता गरेको यो पेटेन्ट सन् २०२५ जुन १९ मा सार्वजनिक गरेको हो । कम्पनीले  ‘US 2025/0200526 A1’ नाममा पेटेन्ट दर्ता गरेको हो ।

यो पेटेन्टको आविष्कारकर्ताहरूमा अमेरिकी इन्जिनियरहरू म्याथ्यु एड्वार्ड गिलबर्ट एयरस, क्रेग थोमस डग्लस, एलेक एम वोउरीनन, र डोनाल्ड के. ग्रिम रहेका छन् ।

जीएमले दर्ता गरेको यो प्रणाली विभिन्न सेन्सरहरूले सुसज्जित गाडीहरूको नेटवर्कमार्फत सडकको अवस्था पहिचान गर्न डिजाइन गरिएको छ । गाडीहरू चलेको बेलामा ती सेन्सरहरूले कम्पन, सस्पेन्सनको चाल, पाँग्राको घुमाइ र क्यामेराबाट लिइएको दृश्य डाटा संकलन गर्छन्।

संकलित डाटा टेलिम्याटिक्स र जीपीएस को माध्यमबाट वास्तविक समयमा क्लाउडमा पठाइन्छ। त्यसपछि, क्लाउडमा रहेको कम्प्युटर प्रणालीले सबै डाटा मिलाएर सडकको अवस्थालाई मापन गर्ने ‘रोड मेन्टेनेन्स स्कोर–आरएमएस’ निकाल्छ ।

यस स्कोरको माध्यमबाट प्रणालीले सडकको अवस्था समय अनुसार कसरी परिवर्तन भइरहेको छ भन्ने ट्र्याक गर्न सक्छ, जसले भविष्यमा कहिले मर्मत आवश्यक पर्छ भन्ने पूर्वानुमान गर्न सहयोग गर्छ। यदि आरएमएस स्कोरले तोकिएको सीमालाई पार गर्छ भने प्रणालीले सम्भावित वा आकस्मिक मर्मत गर्नुपर्ने बारे सम्बन्धित निकायलाई सूचना पठाउने छ ।

प्रणालीले सडकमा क्षति गम्भीर भएमा वैकल्पिक मार्ग सुझाउने या नेभिगेसन सफ्टवेयर भएको गाडीहरूलाई स्वतः नयाँ बाटो देखाउने काम पनि गर्न सक्छ। स्वचालित गाडीहरू भएको खण्डमा प्रणालीले स्वतः रुट परिवर्तन गरिदिन सक्छ।

यस प्रणालीको विशेषता भनेको यो धेरै गाडीबाट डाटा संकलन गरेर काम गर्ने भएकाले कुनै विशेष सडक संरचना बिना नै विभिन्न स्थानमा प्रयोग गर्न मिल्ने छ। सडकमा गाडीको संख्या बढ्दै जाँदा, प्रणाली झन् प्रभावकारी र सटिक बन्दै जानेछ। साथै, यसले खाल्डाखुल्डी, पानी जमेको भाग वा असमान सतह जस्ता विशिष्ट समस्याहरू छुट्याएर नक्सामा देखाउने क्षमता पनि राख्छ। यसले संकलन गरेको डाटा गाडीमा रहेको नेभिगेसन सिस्टमसँग पनि जोड्न सकिने छ।

यो प्रविधिले सडक मर्मतको योजना बनाउने निकायहरू, ड्राइभरहरू र स्वचालित गाडी प्रणालीहरूलाई एकसाथ लाभ पुर्याउने विश्वास गरिएको छ।


Back_to_top