एक वर्षमा सबैभन्दा धेरै आयात भएका ५ विद्युतीय कार (सूचीसहित)

काठमाडौं । भर्खरै सकिएको आर्थिक वर्ष २०८१/८२ भित्र ११ हजार ९५२ युनिट विद्युतीय कार आयात भएका छन् । यत्रो आयातमा सबैभन्दा धेरै युनिट आयात भएका मोडलहरू कुन कुन होलान् भन्ने जिज्ञासा धेरैको पाइन्छ ।

गत आर्थिक वर्षमा नेपाली बजारमा धेरै ईभी बिक्री गर्ने कम्पनीहरूमा साइमेक्स इंक, एमएडब्लू ग्रुप, सिप्रदी जस्ता कम्पनी छन् । यी कम्पनीले ल्याएको ईभीहरू नै धेरै आयात हुनेमा परेका छन् ।

खासगरी धेरै आयात भएका ५ मोडलमा तीन एसयूभी छन् । दुई मोडल भने ह्याचब्याक सेग्मेन्टमा उपलब्ध हुन् । ह्याचब्याक सेग्मेन्टमा नामी-०१ र बीवाइडी डल्फिन पर्दा, एसयूभी सेग्मेन्टमा एमजी एस-फाइभ, बीवाइडी एटो-थ्री र टाटा पन्च पर्न सफल भएका छन् ।

५. टाटा पन्च

सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा पन्च टप फाइभ भित्र पर्न सफल भएको छ । कम्पनीले एक वर्षभन्दा कम समयमा ८५० युनिट पन्च ईभी नेपाल ल्याएको छ । निकै स्मार्ट डिजाइन, उच्च ग्राउण्ड क्लियरेन्स र एसयूभीको फिल दिन सक्षम भएकै कारण पन्च ईभी सफल मोडलमा गनिएको हो ।

टाटाले नेपालमा पन्चको टप भेरियन्ट ३९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ । टप भेरियन्टमा ३५ किलोवाट आवरको प्रिज्मेटीक ब्याट्रीको साथ ९८ किलोवाटको मोटर दिइएको छ । यसको इन्ट्री भेरियन्ट ३४ लाख ९९ हजारमै किन्न पाइन्छ ।

४. नामी-०१

डोङफेङ नामी-०१ एमएडब्लू वृद्धिले नेपाल ल्याएको मोडल हो । नेपाल आएदेखि नै यसको बिक्री र चर्चा दुवै धेरै छ । ह्याचब्याक सेग्मेन्टमा उपलब्ध चार मिटर लामो नामी-०१ गत आर्थिक वर्षमा १ हजार १७ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।

नामी-०१ मोडल दुई ब्याट्री र दुई मोटर अप्सनमा उपलब्ध छ । सुरूमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा मात्रै उपलब्ध नामी-०१ पछि ५० किलोवाटको मोटरमा पनि उपलब्ध छ । यसको मूल्य ३० लाखदेखि ३५ लाख रुपैयाँसम्म तोकिएको छ ।

३. बीवाइडी एटो-थ्री

साइमेक्स इंकले बिक्री गर्दै आएको बीवाइडी एटो-थ्री धेरै आयात भएका गाडीको सूचीमा तेस्रो स्थानमा छ । एटो-थ्रीका दुई भेरियन्ट सुपेरियर र एड्भान्स मिलाएर १ हजार ३० युनिट आयात भएको देखिन्छ ।

सन् २०२३ मा नेपाल आएदेखि नै धेरै बिक्री हुने एसयूभीको स्थान बनाउन सफल एटो-थ्री गत आर्थिक वर्षमा पनि हजार युनिट पार गर्न सफल मोडल हो । १०० किलोवाटको मोटरमा उपलब्ध एटो-थ्रीमा ४९ किलोवाट आवर र ६० किलोवाट आवरका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । मूल्य ५६ लाख ९० हजारदेखि ६७ लाख ८० हजार रुपैयाँसम्म तोकिएको छ ।

२. एमजी एस-फाइभ

आयातको आधारमा एमजी एस-फाइभले दोस्रो स्थानमा कब्जा जमाएको छ । फेब्रुअरीबाट नेपाल आएको एस-फाइभ पूरा आर्थिक वर्षमा १ हजार ५२ युनिट आयात भयो । एमजीले एस-फाइभ ईभीलाई रियर ह्वील ड्राइभ मोटर, इन्डिपेन्डेन्ट सस्पेन्स, इनब्यूल्ट एपहरूको साथमा बजारमा ल्याएको कारण धेरैले मनपराएका छन् । ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर तथा ४९ र ६२ किलोवाट आवरको ब्याट्री अप्सनले पनि धेरैको आवश्यकता पूरा गर्नेछ ।

पारामाउन्ट मोटर्सले ४३ लाख ९९ हजारदेखि ५४ लाख ९९ हजारसम्म मूल्य तोकेर बिक्री गर्दै आएको एस-फाइभ अन्य प्रतिस्पर्धीभन्दा निकै राम्रो मूल्यमा खरिद गर्न सकिन्छ ।

१. बीवाइडी डल्फिन

साइमेक्स इंकले बिक्री गर्ने डल्फिन मूल्यकै कारण हिट भएको प्रोडक्ट हो । मूल्यसँगै निकै आकर्षक फिचर यसको अर्को बलियो पक्ष हो । ४५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ । यसमा मोटर भने ७० किलोवाटको छ ।

मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको फ्यामली ह्याचब्याक कार आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै १ हजार २३० युनिट आयात भएको छ । योसँगै डल्फिन एक वर्षको अवधिमा सबैभन्दा धेरै आयात भएको प्यासेन्जर कार बनेको हो ।


Back_to_top