त्रिभुवन विमानस्थल नयाँ प्रयोग, भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृत खटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सरकारले एकैपटक ४५ नयाँ कर्मचारी खटाएको छ ।

गृह मन्त्रालयले सोमबारदेखि हालै लोकसेवा परीक्षा पास गरी तालिम सम्पन्न गरेका ४५ जना ‘फ्रेस’ शाखा अधिकृतलाई विमानस्थल अध्यागमनमा खटाएको हो ।

अध्यागमन सुधारको क्रममा हालै लोकसेवा पास गरेका ४५ जना शाखा अधिकृतलाई खटाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रालयले केही समय अघि एकैपटक अध्यागमनमा कार्यरत ४५ जना पुराना कर्मचारी सरुवा गरेको थियो । सोही ठाउँमा भर्खरै सवा सुरू गरेका नयाँ कर्मचारी पठाएको हो ।

पछिल्लो समय विमानस्थल अध्यागमन भिजिट भिसा काण्डका कारण बद्नाम छ । अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सबै कर्मचारीले मिलेमतोको भिजिट भिसामा जानेसँग दैनिक ५० लाख रुपैयाँसम्म पैसा असुल्ने गरेको पाइएको थियो ।

भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । साथै, तत्कालीन प्रमुख भट्टराईलाई पक्राउ समेत गरेको थियो ।

उक्त प्रकरण बारे संसद समेत अवरुद्ध भएको थियो । रास्वपा, राप्रपा लगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा समेत माग्दै आएका छन् ।

सरकारले समेत छानबिनका लागि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ ।


Back_to_top