रसुवामा बाढीले क्षति पुर्याएको भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने

काठमाडौं । गत असार २४ गते रसुवामा आएको बाढीले पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ ।

सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको बीच भएको भेटवार्तामा चिनियाँ पक्षले यस्तो प्रतिबद्धता जनाएको हो ।

सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए।

सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनीयाँ पक्षलाई धन्यवाद दिए ।

‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं,’ अर्थमन्त्री पौडेलले भने ।

भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको थियो । द्विपक्षीय भेटवार्तापछि ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।


Back_to_top