काठमाडौं । नेपालमा स्पोर्टस् यूटिलीटी भेहिकल (एसयूभी) गाडीको बजार हिस्सा ६० प्रतिशतभन्दा माथि पुगेको तथ्यांकले देखाएको छ । सन् २०२१ मा करिब १८ हजार यूनिट प्यासेन्जर कार आयात भएकोमा झण्डै ११ हजार यूनिट एसयूभी आयात भएका छन् ।
एसयूभीका अलावा अन्य सबै डिजाइनमा कार नेपाल आएको भएपनि सब फोर मिटर एसयूभी सेग्मेन्ट सबैभन्दा बलियो देखिएको छ । सब फोर मिटर सेग्मेन्टमा पहिलो पटक एक वर्षमा झण्डै २ हजार यूनिट आयातसँगै मारुती सुजुकी ब्रेजा अग्रस्थानमा रहन सफल भयो ।
ब्रेजासँगै प्रतिस्पर्धामा उत्रिएको निसान म्याग्नाइटले करिब १ हजार ३५० यूनिटसहित दोस्रो स्थानमा रहँदा हुन्डाई भेन्यू र टाटा नेक्सन जस्ता मोडल पनि करिब हजार÷हजार यूनिट हाराहारी आयात भएका छन् । किया सोनेटको आयात पनि ७ सय हाराहारी रहेको छ ।
केही महिना अघि नेपाल आएको रेनो काइगर र पछिल्ला दिनमा आयात बन्द भएको इकोस्पोर्टको आयातपनि झण्डै ८/९ सय यूनिट रहेको छ । यसले साना र छोटा एसयूभीको बजारलाई देखाउँछ ।
सब फोर मिटर एसयूभी सेग्मेन्टमा आएको रेनो काइगर र निसान म्याग्नाइट सुरुवाती मूल्य ३० लाखभन्दा कममा नै उपलब्ध रहेका छन् ।
यसका बाबजुद समान सुरुवाती मूल्य रहेको ह्याचव्याक कार सेगेन्टमा हुन्डाई ग्राण्ड आई १० नियोसले निकै राम्रो सफलता पाएको देखिन्छ ।
ग्राण्ड आई १० हुन्डाईको सर्वाधिक सफल मोडल हो । कम्पनीले पछिल्लो पटक २०२१ मा नेपाल ल्याएको ग्राण्ड आई १० नियोसले पनि सफलतालाई निरन्तरता दिएको छ । कम्पनीले एक वर्षमा झण्डै १३ सय यूनिट ग्राण्ड आई १० नियोस नेपाल ल्याएको थियो ।
साना एसयूभीको कारण थुप्रै ह्याचव्याक कार मारमा परेको भएपनि हुन्डाई नियोसले निरन्तर सफलता पाउनुको पछाडिको मुख्य कारण यसको रिसेल भ्यालू हो । अहिले बजारमा सर्वाधिक रिसेल भ्यालू पाइने कारमा हुन्डाई अग्रस्थानमा पर्छ । यसको सिधा फाइदा ग्राण्ड आई १० नियोसको विक्रीमा पनि पर्दै आएको छ ।
ग्राण्ड आई १० नियोसको सफलतामा अर्को महत्वपूर्ण कारण यसमा रहेको १.२ लिटर क्षमताको फोर सिलिण्डर कप्पा इन्जिन हो । यसमा रहेको कप्पा इन्जिन स्मुथ र पावरको लागि उत्कृष्ट मानिन्छ ।
सब फोर मिटर एसयूभीको तुलनामा सानो साइज, उत्कृष्ट इन्टेरियर, स्पोर्टी एक्सटेरियर र बल्की डिजाइनले ग्राण्ड आई १० नियोसलाई निकै प्रतिस्पर्धी बनाएको छ । त्यसैले त सब फोर मिटर एसयूभीले पनि यसलाई हल्लाउन सकेको छैन ।

