काठमाडौं । सन् २०२२ मा नेपाली इभी बजार तुलनात्मक रुपमा बलियो हुने देखिएको छ । रेभा जस्तो सानो कारबाट सुरु भएको इलेक्ट्रीक कार आयात अहिले टेस्ला मोडल एक्ससम्म पुगेको छ ।
नेपालमा १५ लाखदेखि ३ करोड मूल्यसम्मको विद्युतीय कार उपलब्ध हुन थालेसँगै बजारमा नयाँ नयाँ मोडल आउने प्रतिस्पर्धा नै सुरु भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ११ सय यूनिट इलेक्ट्रीक कार नेपाल आइसकेको छ । अहिलेको रफ्तारमा इभी आयात हुने हो भने मात्रै पनि यो आर्थिक वर्षमा २ हजारभन्दा बढी यूनिट इभी आयत हुने देखिन्छ ।
अहिले बजारमा कोरिया, भारत, चीन र जापान लगायत देशमा उत्पादन भएका इलेक्ट्रीक कार आयात हुन थालेको छ । जापानबाट निसान लिफ, कोरियाबाट हुन्डाईकाे कोना र आयोनीक, किया निरो आयात हुँदै आएको छ । साथै, भारतबाट टाटा नेक्सन इभी र चीनबाट एमजी जेडएस इभी, बीवाइडीकाे इ सिक्स र एम थ्री दिगो, डेरी, ओरा गुड क्याट जस्ता मोडल आयात हुँदै आएका छन् । ओरा गुड क्याट केही दिनअघि मात्रै नेपाल आएको मोडल हो ।

ओरा गुड क्याटको व्यवसायीक विक्री फेब्रुअरी २०२२ को अन्तिमबाट हुने अपेक्षा गरिएको छ । कम्पनीले फेब्रुअरीको सुरुवातबाट गाडी बुकिङ सुरु गर्ने जनाएको छ । ओरा गुड क्याट एउटा ह्याचव्याक कार हो । ह्याचव्याक सेग्मेन्टमा आएको गुड क्याट र बीवाइडीले नेपाल ल्याउन लागेको डल्फीन (इए–१) मोडल बीच कडा टक्कर हुने देखिएको छ ।
ह्याचव्याक सेग्मेन्टमा भएसँगै यी दुबै कारको बीचमा निकै कडा प्रतिस्पर्धा हुने निश्चित छ । दुबै चिनियाँ ब्राण्डले उत्पादन गरेका यी दुई ह्याचव्याकमा रहेका भिन्नता यस प्रकार रहेका छन् ।
व्याट्री र मोटर
ओरा गुड क्याटमा दुई व्याट्री अप्सन उपलब्ध रहेको छ । कम्पनीले यसमा ४७.७ किलोवाट आवर र ६३.१ किलोवाट आवरको दुई व्याट्री दिएको छ । यसमा रहेको सानो व्याट्रीले ४०० किलोमिटर र ठूलो व्याट्रीले ५०० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । डब्लूएलटीपीका अनुसार भने सनो व्याट्रीले ३३६ किलोमिटर र ठूलो व्याट्रीले ४२० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । यसमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसलाई घरको सामान्य विजुलीबाट १० घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
बीवाइडी डल्फीनमा पनि ३०.७ र ४४.९ किलोवाट आवरको दुई फरक व्याट्री प्याक पाउन सकिन्छ । बीवाइडीले कम क्षमताको व्याट्री दिएको भएपनि कम्पनीको पछिल्लो व्लेड व्याट्री रहेको कारण यसको रेन्ज उत्कृष्ट रहने जनाइएको छ ।

दुबै व्याट्री प्रयोग भएको गाडीमा कम्पनीले ७० किलावाट क्षमताको मोटर जडान गरेको छ । कम क्षमताको मोटर एकै कारण पनि यसको रेन्ज राम्रो हुने अनुमान गर्न सकिन्छ । कम्पनीले डल्फीनको सानो व्याट्रीले ४०० किलोमिटर र ठूलो व्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने जनाएको छ । डब्लूएलटीपीले भने सानो व्यट्रीले ३०० किलोमिटर र ठूलो व्याट्रीले ४२५ किलोमिटर रेन्ज दिने उल्लेख गरेको छ । यसलाई घरायसी विजुलीमा चार्ज गर्न १० घन्टासम्म लाग्ने छ ।
साइज
ओरा गुड क्याटको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम र उचाई १५९६ एमएम रहेको छ । यसमा २६५० एमएमको ह्वीलवेस र १४५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले दावी गरेको छ ।

डल्फीन भेरियन्ट अनुसार फरक लम्बाईमा उपलब्ध हुनेछ । यसको लम्बाई ४०७० एमएमदेखि ४१५० एमएमसम्म रहेको छ । तर, चौडाई र उचाई भने सबै भेरियन्टमा समान रहने छ । यसको चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । डल्फीनको ग्राउन्ड क्लियरेन्स भने निकै उत्कृष्ट १८५ एमएम रहेको छ ।
लुक्स
ओरा गुड क्याट क्लासिक डिजाइनमा तयार भएको छ । झट्ट हेर्दा फक्सवागेन विटल जस्तो देखिने गुड क्याटले क्लासिक कार चाहनेहरुलाई एकै पटकमा आकर्षित गर्ने क्षमता राख्छ ।
डल्फीन ट्रेन्डी डिजाइनमा तयार भएको इलेक्ट्रीक कार हो । यसले ह्याचव्याक सेग्मेन्टमा चल्तीको डिजाइनलाई प्रतिनिधित्व गरेको छ ।
टायर
ओरा गुड क्याटमा १७ र १८ इन्चको टायर दिइएको छ । निकै यूनिक डिजाइनमा तयार भएको यो टायरले फरक लुक्स प्रदान गरेको छ ।
बीवाइडीले डल्फीनमा १६ इन्चको टायर प्रयोग गरेको छ ।
मूल्य
ओरा गुड क्याटको मूल्य ४० लाखदेखि ४८ लाखसम्म तोकेर ग्रेटवालको आधिकारीक वितरक भिजी इम्पेक्सले विक्री सुरु गर्न लागेको छ । तर, बीवाइडीले कति मूल्य राखेर यसलाई नेपाल ल्याउने छ भन्ने विषयमा कुनै जानकारी दिएको छ ।

