भारत–चीन बीच बढेको तनाबले ग्रेटवालको लागनी समस्यामा

काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले भारतमा लगानीको लागि नियमक निकायबाट अझै पनि स्वीकृती पाएको छैन । कम्पनीले जनरल मोटर्सको बन्द रहेको प्लान्ट खरिद गरेर गाडी उत्पादन गर्न पेश गरेको प्रस्ताव दुई देश बीच चलिरहेको तनावले स्वीकृत हुन सकेको छैन ।

ग्रेटवाल मोटर्सले भारतमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने योजनासहित एसयूभी उत्पादन गर्ने प्रक्रिया अघि सारेको थियो । अझै लगानी स्वीकृत हुन नसेको भएपनि ग्रेटवाल मोटर्सले गत हप्ता महाराष्ट्रको तलेगाँउमा रहेको जनरल मोटर्सको प्लान्ट खरिदको टर्मसिटको अवधि तीन महिनाको लागि थप गरेको छ ।

ग्रेटवालले भारतमा आफ्नो क्रियाकलाप सुरु गर्न एक मोडलको ट्रेडमार्क पनि दर्ता गरेको छ । कम्पनीले दर्ता गरेको ट्रेडमार्क आफ्नो फुलसाइज एसयूभी हाभल ब्राण्डको ‘डार्गो’ हो । विश्व बजारमा प्रिमियम अफरोड एसयूभीको रुपमा विक्री भइरहेको डार्गो ग्रेटवाल मोटर्सको भारतमा पहिलो उत्पादन हुने सम्भावना बढेको छ ।

ग्रेटवाल मोटर्सले केही हप्ताअघि मात्र साउदी अरेबियाको जेद्दा मोटर शोमा नयाँ भर्सनको डार्गो देखाएको थियो । हाभल डार्गोलाई चाइनामा ‘विगडग’ नामले चिनिन्छ । यसको लम्बाई ४६२० एमएम, चौडाई १९१० एमएम, उचाई १७८० एमएम रहेको छ । यसको फ्रन्ट फेसिया फोर्डको ब्रोङकोबाट धेरै हदसम्म प्रभावित भएको देखिन्छ ।

डार्गोको अगाडि ट्रापेजोडीयल सेपको फ्रन्ट ग्रिल रहेको छ । एलइडी हेडल्याम्पको वरिपरी एलइडी डिआरएल, रग्ड देखिने बम्पर, बोल्ड ह्वीलआर्क क्लाडिङ, अलोय ह्वील, साइड क्लाइडिङ, होरिजेन्टल एलइडी फगल्याम्प, रुफरेल यो एसयूभीका मुख्य विशेषता हुन् ।

डार्गोको इन्टेरियरमा १२.३ इन्चको ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम तथा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । दुई इन्जिन अपसनमा उपलब्ध डार्गोमा १.५ लिटर र २.० लिटरको टर्बो इन्जिन पाउन सकिन्छ ।


Back_to_top