नयाँ ९ मोडलको तयारीमा टाटा, एउटा मात्रै ह्याचव्याक

काठमाडौं । भारतीय कार निर्माता कम्पनी टाटाले विभिन्न ९ नयाँ मोडलको तयारी गरिरहेको छ । कम्पनीले पेट्रोल, डिजेल र इलेक्ट्रीक मोडल बजारमा ल्याउनेगरी काम गरिरहेको छ ।

टाटाले प्राथमिकतामा राखेर तयार गरिरहेको गाडीमा अल्ट्रोज इभी, पन्च इभी र टर्बो पेट्रोल, अपडेटेड नेक्सन इभी, ब्ल्याकवर्ड पेट्रोल र इभी, एच फाइभ पेट्रोल, सफारी पेट्रोल र सिएरा इभी रहेको छ । यी मध्ये अल्ट्रोज मात्रै ह्याचव्याक मोडल हो । अन्य सबै एसयूभी हुन् ।

भारतमा बढ्दो माग, ग्लोवल एनक्यापमा उत्कृष्ट क्रयास टेष्ट रेटिङ, आधुनिक डिजाइन र कम मूल्यमा प्रिमियम कार उपलब्ध गराउन थालेसँगै टाटाका प्यासेन्जर कार खोज्ने बढ्दै गएका छन् ।

यस्तोमा टाटाले आफ्नो बजार हिस्सा थप बढाउन नयाँ नयाँ मोडललाई बजारमा ल्याउन काम गरिरहेको छ । त्यसमा पनि साना रकम मूल्यका इलेक्ट्रीक कार उत्पादनमा पनि टाटा निकै आक्रमक रुपमा अगाडि बढ्न लागेको भान हुन्छ ।

नेक्सन इभीभन्दा सानो एसयूभीमा इभी खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले पन्च इभी बजारमा ल्याउने गरी तयारी गरिरहेको छ । पन्चको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनको सफलता पछि त्यसमै इलेक्ट्री र बढी पावर खोज्ने ग्राहकलाई १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा पन्च उपलब्ध गराउने कम्पनीले तयारी गरिरहेको छ ।

प्रिमियम ह्याचव्याक अल्ट्रोजको इलेक्ट्रीक भर्सन कम्पनीले यसअघि नै प्लान गरिसकेको मोडल हो । यसलाई पनि प्राथमिकताको साथ कम्पनीले उत्पादन गरिरहेको छ । सन् २०२२ को अन्तिमसम्ममा अल्ट्रोज इभी बजारमा उपलब्ध हुने बताइएको छ । यसको रेन्ज करिब ४०० किलोमिटर हुने विभिन्न रिपोर्टहरले दावी गरेका छन् ।

टाटाको सर्वाधिक सफल र अहिले भारतको बजार लिडर नेक्सन इभीलाई कम्पनीले अपडेड गर्ने काम गरिरहेको छ । अबको ३÷४ महिनामा बजारमा आउने अपेक्षा गरिएको नेक्सन इभी अब करिब ४०० किलोमिटर रेन्ज प्रदान गर्न सक्नेगरी आउने अपेक्षा गरिएको छ ।

टाटाले डिजेल इन्जिनमा मात्रै उपलब्ध गराएको एच फाइभ र सफारी एसयूभीलाई पेट्रोल इन्जिनमा पनि ल्याउनेगरी काम गरिरहेको छ । कम्पनीले यी दुबै एसयूभीको पेट्रोल भर्सन यही २०२२ को अन्तिमसम्ममा बजारमा ल्याउने अपेक्षा गरिएको छ । यी दुई एसयूभीमा एच फाइभ ५ सिट क्षमताको एसयूभी हो भने, सफारी ६ र ७ सिट अप्सनमा उपलब्ध रहेको छ ।

बजारमा कम्प्याक्ट एसयूभी सेग्मेन्टको बजार हिस्सा बढ्दै गएको छ । यो सेग्मेन्टमा टाटासँग अहिलेसम्म कुनै गाडी उपलब्ध छैन । हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक र फक्सवागेन टाइगुन जस्ता एसयूभी यो सेग्मेन्टमा उपलब्ध रहेका छन् । यी गाडीसँग प्रतिस्पर्धा गर्न टाटाले कुप्पे डिजाइनमा नयाँ एसयूभी ल्याउने तयारी गरिरहेको छ । नयाँ एसयूभी १.५ लिटर टर्बो पेट्रोल र इलेक्ट्रीक भर्सनमा उपलब्ध हुने बताइएको छ । सम्भवत टाटाको व्ल्याकवर्ड कन्सेप्टमा यो बजारमा आउने छ ।

टाटाले सन् २०२५ भित्र बजारमा ल्याउनेगरी सिएरा इभीको तयारी गरिरहेको रिपोर्ट केही दिनअघि मात्रै बाहिर आएको थियो । कम्पनीले सिएरालाई इलेक्ट्रीक अप्सनमा मात्रै ल्याउने अनुमान गरिएको छ ।


Back_to_top