काठमाडौं । नेपाली बजारमा मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएका विभिन्न कम्पनीले नाडा अटो शोलाई लक्षित गर्दै नयाँ मोडल ल्याउने योजना बनाइरहेका छन् ।
अन्य कम्पनीले जस्तै हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक बितरक नेपाल जनरल मार्केटिङ प्रालिले पनि भदौं १० गतेबाट सुरु हुने अटो शोमा एक्सपल्स–२०० सार्वजनिक गर्ने भएको छ ।
त्यसैगरी अर्को मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबाइल लिमिटेडको लागि नेपालको आधिकारिक बिक्रेता रमन मोटर्सले अटो शोमा २०० सीसीको हक मोटरसाइकल प्रदर्शनीमा राख्ने भएको हो यद्यपी यो अघिल्लो नाडा अटो शोमा समेत थियो ।
पावर, डिजाइन, मूल्य र विशेषताका आधारमा एक अर्काका प्रतिस्पर्धी यी दुइ मोटरसाइकल नाडा अटोशोमा प्रदर्शन तथा बिक्री हुने भएका हुन् ।
डाइमेन्सन
एक्सपल्स २००को लम्बाई २ हजार २२२ एमएम, चौडार्इ ८ सय ५० एमएम र उचाई १ हजार २५८ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने, ह्वीलवेश १ हजार ४१० एमएम रहेको छ ।
त्यस्तै, रनर हकको लम्बाई २ हजार ९० एमएम, चौडाई ८ सय ८० एमएम र उचाई १ हजार १८० एमएम रहेको छ । यसमा १ हजार ३६० एमएमको ह्वीलवेश दिइएको छ ।
इन्जिन
एडभेन्चर बाइक एक्सपल्स २०० मा उपलब्ध २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलिन्डर इन्जिनले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड गियरबक्स समावेश गरिएको छ ।
हकमा उपलब्ध फोर स्ट्रोक पेट्रोल इन्जिनले ७५०० आरपीएममा १४.२ बीएच पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क उत्पादन गर्छ ।
विशेषता
एक्सपल्स २०० अफरोड राइडिङलाई मध्यनजर गर्दै डिजाइन गरिएको हो । एक्सपल्स २०० मोटरसाइकलमा स्पोक ह्विल्स र अफरोड टायर दिईएको छ । यसको फ्रन्ट साइडमा २१ इन्च र रियरमा १८ इन्च ह्वील लगाइएको छ ।
यसमा लामो र शार्प फ्रन्ट मडगार्ड, हरेक प्रकारको सडकको लागि उपयुक्त टायर र राउण्ड एलईडी हेडल्याम्प रहेको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सिटको भित्री भागमा यूएसबी चार्जिङ पोर्ट राखिएको छ ।
उक्त बाइकको फ्रन्ट र रियर दुबैमा डिस्क ब्रेक रहेको छ । बाइकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ ।
यस्तै, उच्च ग्राउण्ड क्लियरेन्स् भएको हक मोटरसाइकलमा पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने विशेषता रहेको छ । यो बाइकको फ्रन्टमा गोल्डन करल यूएसडी फर्क तथा रियरमा मोनोसक रहेको छ । १३२ किलोग्रामको यो मोटरसाइकलको फ्रन्टमा तथा रियर दुबैमा डिस्क ब्रेक लगाइएको छ ।
मोटरसाइकलमा ह्वाइट र रेड पेन्ट सेम, डायमन्ड फेस हेडलाइट र सेमी डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।
मूल्य
कम्पनीले एक्सपल्स २०० मोटरसाइकल ३ लाख ५० मूल्यमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
हक मोटरसाकल भने नेपालमा ३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ भने २० हजार रुपैयाँ छुट दिने कम्पनीले बताएको छ ।

