काठमाडौं । हिरोले सन् २०१९ मा पहिलो पटक बजारमा विक्री सुरु गरेको एक्सपल्स २०० ले सफलताको नयाँ स्वाद दिएको छ । नेपालमा पनि ‘नाडा अटो शो २०१९’ मा एक्सपल्स २०० सार्वजनिक भएको थियो ।
भारतीय उत्पादकले बनाएको सबैभन्दा कम मूल्यको डबल स्पोट्र्स मोटरसाइकल एक्सपल्स डिजाइनको कारण पनि धेरै चर्चामा रहेको थियो ।
एक्सपल्सको सफलताले उत्साहित हिरोले ‘फोर भी’ मोडल ल्याएको छ । नयाँ एक्सपल्स २०० फोर भीमा परिवर्तन भएका मुख्य ५ फिचर यस प्रकार रहेका छन् ।
१. पावर बढ्यो
नामको पछाडि दिएको ‘फोर भी’को अर्थ हो मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग भएको छ भन्ने । यसको मतलव यसको इन्जिन रेगुलर मोडलको तुलनामा थप रिफाइन्ड गरिएको छ । जसको कारण १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।

एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।
२. रेगुलरको तुलनामा हल्का अग्लो
रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी बनेको दावी हिरोले गरेको छ । यसको सिट आइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि मोडिफाई गरिएको छ ।

३. थप फिचर
हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको कम्पनीले जनाएको छ । नयाँ हेडलाइट सेटअपले रातीको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।

४. यी मुख्य कुरा परिवर्तन भएनन्
हिरोले एक्सपल्समा दिएको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वीललाई फोर भीमा पनि निरन्तरता दिएको छ । कम्पनीले सस्पेन्सनमा पनि परिवर्तन गरेको छैन । अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।

५. मूल्य परिवर्तन
भारतमा विक्री सुरु भएको फोर भी मोडल रेगुलर मोडलको तुलनामा ५ हजार भारुले महंगो रहेको छ । कम्पनीले यसको मूल्य १ लाख २८ हजार १५० (दिल्ली एक्स शोरुम) राखेर विक्री सुरु गरेको छ । नेपालमा निकै रुचाइएको एक्सपल्सको फोर भि मोडल केही महिनापछि आउने अनुमान गर्न सकिन्छ ।

