काठमाडौं । बाढी पहिरोका कारण देशभरका विभिन्न राजमार्गको १८ स्थानमा सडक पूर्ण रुपमा बन्द रहेको छ ।
नेपाल प्रहरीका अनुसार सोमबार बिहान ६:३० बजेसम्म कोशी र बागमती प्रदेशको १८ स्थानमा सडकखण्ड अवरुद्ध रहेका हुन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुण र मकालु गाउँपालिका एकुवामा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
त्यस्तै, रसुवाको रसुवागढीस्थित ल्हेन्दे खोलामा नेपाल चीन जोड्ने पुल बगाउँदा दुई देश बीचको यातायात सेवा ठप्प भएको हो । गत असार २४ गतेदेखि बन्द यो पुल अझै संचालनमा आउन सकेको छैन।
त्यसैगरी, ओखलढुंगाको मानेभञ्ज्युरको कटारी नगरपालिकाको दलदलले लगायत ठाउँमा अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्ग, धनकुटाको दिकुरे, चनौटे, घण्टे, सिमसुवामा अविरल वर्षा हुँदा सिद्धिचरण लोकमार्ग र कोशीलोकमार्ग पूर्ण रुपमा बन्द रहेको छ ।
त्यस्तै, बागमती प्रदेशका पासाङ ल्हामु राजमार्ग (रसुवा), अरनिको राजमार्ग (सिन्धुपाल्चोक), बीपी राजमार्ग (काभ्रेपलाञ्चोक), कान्तिलोकपथ (मकवानपुर), कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं सडक र मध्यपहाडी राजमार्ग (सिन्धुली) पनि पूर्ण रुपमा बन्द रहेका छन् ।
पहिरोका कारण अवरुद्ध मदन भण्डारी राजमार्ग (सिन्धुली) खण्ड भने एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।


