कस्तो लाइफ स्टाइल एसयूभी चढ्ने, खर्च बचाउने कि जहाँ सुकै पुग्ने ?

काठमाडौं । लाइफ स्टाइल अफरोड सेग्मेन्टमा नेपाली बजारमा उपलब्ध सबैभन्दा आकर्षक एसयूभी जीपको र्‍याङलर हो । तर, जीप र्‍याङलर चढ्ने सोख पुरा गर्न करिब ३ करोड लगानी गर्नुपर्छ ।

र्‍याङलरकै चाहना पुरा गर्ने क्षमता एकदमै कम धनाड्यहरुसँग मात्रै छ । के त्यसो भए अफरोड एसयूभी चढ्ने चाहना पुरानै गर्न सकिँदैन त ? सकिन्छ र बजारमा विकल्प पनि छन् ।

र्‍याङलर किन्न नसक्नेले सुजुकी जिम्नी किनेर चढ्दै आएका छन् । अब यी दुई अफरोड मेसिनको विकल्पमा झनै सस्तो आईकार भी-२३ पनि नेपालमा उपलब्ध हुने भएको छ ।

कम मूल्यमा लाइफ स्टाइल मोडल खोज्नेको चाहना पुरा गर्न सक्ने जिम्नी र आइकार भी-२३ का विषयमा हामीले यहाँ चर्चा गर्दैछौं । जुन विल्कुलै फरक इन्धनबाट चल्ने, फरक ड्राइभिङ सिस्टम भएका र फरक साइजका एसयूभी हुन् ।

ब्राण्डको कुरा

जापनीज ब्राण्ड सुजुकीले सन् १९७० देखि उत्पादन र बिक्री गर्दै आएको जिम्नी निकै सफल मोडल हो । भारतीय बजारमा त सुजुकी ब्राण्ड आफैँमा सबैभन्दा बलियो, ठूलो र विश्वास योग्यमा पर्छ । नेपालमा पनि विगत ३५ वर्षदेखि नै सुजुकीका उत्पादन बिक्री हुँदै आएको छ ।

आइकार ब्राण्ड चीनमा नयाँ जन्मिएको ब्राण्ड मध्येमा पर्छ । चिनियाँ ठूलो कार निर्माता मध्येको एक चेरीको पृथक ब्राण्डको रुपमा आइकारले पहिचान बनाएको छ । त्यसमा प्योर इलेक्ट्रीक मोडलको रुपमा भी-२३ नेपाली बजारमा आउन लागेको हो । चेरीका इलेक्ट्रीक कारहरु चीन बाहिर धेरै बिक्री हुनेमा पर्छन् ।

भेरियन्ट र मूल्यका कुरा

सुजुकी जिम्नी सिजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको छ । भारतमा उत्पादन भएको जिम्नी जेटा, अल्फा र अल्फा ड्यूलटोन गरि ३ भेरियन्टमा बिक्री हुँदै आएको छ ।

म्यानुअल र अटोमेटीक दुबै गियरबक्समा किन्न पायने जिम्नी फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध भएकाले जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट पर्फमेन्स दिन्छ । यसमा १.५ लिटर, फोर सिलिण्डर के१५बी इन्जिन दिइएको छ । उक्त इन्जिनले १०४.८ पीएस र १३४.२ न्यूटन मिटर टर्क प्रदान गर्छ ।

जिम्नीको इन्ट्री भेरियन्टको मूल्य ६३ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको ७४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।

एसपीजी अटोमोबाइलले नेपालमा आधिकारीक बिक्री वितरण गर्ने आइकार भी-२३ प्योर ब्याट्री इलेक्ट्रीक एसयूभी हो । यो फोर ह्वील ड्राइभमा तत्काल नेपाल आउने छैन । यसमा १०० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर छ ।

निकै आकर्षक रगेड र रेट्रो मिश्रित अगाडिको डिजाइनमा उपलब्ध भी-२३ ले लाइफ स्टाइल अफरोड एसयूभी खोज्नेको मन तुरुन्तै जित्न सक्छ । यसमा ६० किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ ।

बक्सी सेपको डिजाइन, मोर्डन इन्टेरियर र एक्सटेरियर दिइएको छ । यसको फ्रन्ट फेसिया, साइड स्टेप, साइड ओपनिङ टेलगेटले लाइफ स्टाइल अफरोडर देखाएको छ । कम्पनीले यसको मूल्य ४७ लाखभन्दा कम हुने घोषणा गरिसकेको छ ।

दुई मोडलमा अन्तर के ?

पेट्रोल इन्जिनको कारण लामो समय चार्जको लागि कुर्न नपर्नु र फोर ह्वील ड्राइभ हुनु जिम्नीको सबैभन्दा बलियो पक्ष हो । जस्तो सुकै सडक कन्डिसनमा पनि यसलाई चलाउन सकिने छ ।

यदि, कम मूल्यमा आकर्षक डिजाइन भएको विद्युतीय एसयूभी तपाईको रोजाई हो भने भी-२३ को विकल्प अर्को देखिएको छैन । वातावरणमैत्री कम खर्चमा चलाउन सकिने र मोर्डन लुक्स भी-२३ को सबैभन्दा बलियो पक्ष हो ।


Back_to_top