काठमाडौं । लीपमोटरले बी-०५ को स्पोर्टस् भेरियन्ट ल्याउने भएको छ । कम्पनीका वरिष्ठ उपाध्यक्ष काओ लीले नयाँ हट ह्याचव्याकको रुपमा बी-०५ को अल्ट्रा भेरियन्ट ल्याउन लागेको बताए ।
सन् २०२५ को म्युनिख मोटर शोमा पहिलो पटक प्रदर्शनी गरिएको बी-०५ लाई चीनमा ‘लाफा फाइभ’ नामबाट चिनिन्छ । वरिष्ठ उपाध्यक्ष काओका अनुसार लाफा फाइभ अल्ट्राले युवा उपभोक्तालाई आकर्षित गर्ने छ ।
ब्लाइन्ड बुकिङमा सहभागि ७० प्रतिशत ग्राहक ३५ वर्ष मुनिका रहेको कारण कम्पनीले बी-०५ ह्याचव्याकमा स्पोर्टस् भेरियन्ट अल्ट्रा ल्याउन लागेको सहजै अनुमान गर्न सकिन्छ । अहिलेसम्म चिनियाँ बजारमै पनि यसको बिक्री सुरु भएको छैन । कम्पनीले २०२५ को अन्तिमसम्ममा लाफा फाइभलाई चीनमा बिक्री थाल्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा भने २०२६ को सुरुवातमा बी-०५ नामबाट बिक्री सुरु हुनेछ । तर, अल्ट्रा भेरियन्ट भने २०२६ को मध्यसम्ममा मात्रै बजारमा आउने अनुमान गरिएको छ ।
लीपमोटरले आफ्नो प्रिमियम ह्याचव्याक कारको अल्ट्रा भेरियन्टमा १९ इन्चको विशाल ठूलो ह्वील प्रयोग गर्नेछ । कारमा अगाडि स्प्लीटर र पछाडि ठूलो स्पोइलर प्रयोग हुनेछ । यसको क्याविनमा के कति परिवर्तन हुन्छ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन ।
विभिन्न प्रकाशित रिपोर्ट अनुसार बी-०५ को अल्ट्रा भेरियन्टको चेसिस नै स्टेलान्टीस ग्रुपको युरोपियन इन्जिनियरहरुको टीमले ट्युन गरेका छन् । जसले यसको कर्नरिङमा स्थिरता प्रदान गर्नेछ । सम्भवत नयाँ ह्याचव्याक कार अल ह्वील ड्राइभ सिस्टमको साथ आउने छ ।

