काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा व्यक्तिगत प्रयोजनका लागि सवारी साधन किन्न ऋण लिने ह्वात्तै बढेका छन् ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा कार तथा मोटरसाइकल किन्न लिइने पर्सनल हायर पर्चेज कर्जा १५.६ प्रतिशतले बढेको हो ।
बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कमर्शियल र निजी प्रयोजन (पर्सनल) सवारी किन्न ऋण दिन्छन् । सोमध्ये पर्सनल कर्जाको वृद्धिदर झण्डै १६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएकाे छ ।
राष्ट्र बैंकका अनुसार गत वर्ष पर्सनल भेहिकल खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरूले ५ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ हायर पर्चेज कर्जा दिएका छन् । २०८१ असारसम्म पर्सनल भेहिकलमा ३६ अर्ब ८४ करोड रुपैयाँ लगानी भएकोमा २०८२ आइपुग्दा बढेर ४२ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।
पछिल्लो समय आर्थिक गतिविधिमा क्रमशः सुधार आउँदा मानिसको आम्दानी वृद्धि भएको छ । त्यस्तै, बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । करिब साढे ६ प्रतिशत हाराहारी ब्याजदरमै कार किन्न ऋण पाइने अवस्था छ । आम्दानीमा सुधार र बैंकको ब्याजदर पनि निकै सस्तो भएकाले ऋण लिएर कार किन्नेहरू बढेका हुन् ।
गत आवमा पर्सनल सवारी किन्न लिने ऋण बढे पनि कमर्शियलमा भने घटेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष व्यवसायिक प्रयोजनका लागि लिइने हायर पर्चेज कर्जा १.३ प्रतिशतले घटेको हो ।
२०८१ असार मसान्तसम्म बैंकहरूले कमर्शियल गाडी खरिदका लागि ८७ अर्ब २६ करोड रुपैयाँ ऋण दिएकामा २०८२ असार आइपुग्दा १ अर्ब १५ करोड रुपैयाँले घटेर ८६ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ ।
समग्रमा भने ३.७ प्रतिशत मात्रै बढ्यो
गत आवमा सवारी साधन खरिदका लागि लिइने हायर पर्चेज कर्जा लगानी समग्रमा ३.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले गत आवमा कुल ४ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका हुन् ।
२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा १ खर्ब २४ अर्ब १० करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा २०८२ असार मसान्त आइपुग्दा ३.७ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो दुई वर्ष लगातार घटेको हायर पर्चेज कर्जा लगानी गत आवमा भने बढेको हो । पछिल्लो समय आर्थिक गतिविधिमा सुधार आउँदा ऋण लिएर सवारी साधन किन्ने पनि बढेका हुन् । यससँगै हायर पर्चेज कर्जा लगानीमा पनि सुधार आएको हो ।
पछिल्लो समय अटोमोबाइल क्षेत्र चलायमान बनेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी आयात तथा बिक्री दुवै बढेको छ । गत आवको १८ हजार बढी कार, जीप, भ्यान लगायत सवारी साधन आयात भएका छन् । त्यस्तै, १ लाख युनिट बढी दुईपाँग्रे र ८ हजार युनिट बढी मिनिबस, माइक्रो, बस, ट्रक लगायत सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
राष्ट्र बैंकको कडाइका बाबजूद बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जा लगानी बढाएका हुन् । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकहरूलाई ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको थियो ।
त्यस्तै, हालै हायर पर्चेज कम्पनीलाई पनि ६० प्रतिशतभन्दा ऋण दिन नपाउने व्यवस्था लागू गरेको थियो । यसका बाबजूद गत आवमा बैंक तथा वित्तीय संस्थाहरूले ४ अर्ब ५९ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका हुन् ।


