५० देखि ६० लाख मूल्यका एसयूभीमा टक्कर, पुरानाको अवस्था के ?

काठमाडौं । गत साउन २१ गतेदेखि सुरू भएको अटो शो हिजो (भदौ ८ गते) सम्पन्न भएको छ । तीन साताको बीचमा दुई अटो अटो शो सम्पन्न भयो । साउन २१ गतेदेखि २६ गतेसम्म नाइमा नेपाल माबिलिटी एक्स्पो र भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो शो २०२५ आयोजना भएको थियो ।

यी दुवै अटो शो आ-आफ्नो स्थानमा सफल भए । अवलोकनकर्ताको हिसाबले नाडा अटो शोमा धेरैको सहभागिता थियो । जबकि गाडी चिन्ने, बुझ्ने र किन्नको लागि बुकिङ गर्नेहरू नाइमा माबिलिटी एक्स्पोमा धेरै देखिए ।

देशका उच्च पदस्थ कर्मचारीदेखि सरकार प्रमुखसम्मको ध्यान खिच्न सफल नाडा अटो शोको मुख्य आकर्षण रहेको दीपलको उड्ने ट्याक्सीमा गज्जबको भीड लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको नाडा अटो शोमा अधिकांश मन्त्रीदेखि शीर्ष राजनीतिक नेतृत्व अवलोकनको लागि पुगे ।

जे होस् पछिल्लो एक महिना अटोमोबाइल क्षेत्रको बारेमा हजारौं समाचार, भिडियो र टिप्पणीहरू हेर्न, पढ्न र सुन्न पाइयो । यसले आउँदै गरेको चाडपर्वको मुखमा सबैलाई रोमाञ्चित बनायो । यस बीच करिब २० नयाँ कार बजारमा सार्वजनिक भए ।


बजारमा आएका नयाँ कारमा सबैभन्दा धेरै कार ५० देखि ६० लाख रुपैयाँ मूल्यका देखिए । पहिल्यैदेखि प्रतिस्पर्धी देखिएको यो सेग्मेन्ट अझ थप रोचक बन्यो ।

यसअघि बजारमा बीवाइडी एटो-थ्री एड्भान्स, एमजी एस-फाइभ, ओमोडा ई-फाइभ, हुन्डाई क्रेटा इलेक्ट्रीक, टाटा कर्भ जस्ता मोडल प्रतिस्पर्धामा थिए । अब यही सेग्मेन्टमा महिन्द्रा बीई-सिक्स, दीपल एस-०५, जेको जे-फाइभ, लीपमोटर बी-१०, जिली ईएक्स-फाइभ, फरथिङ फ्राइडे जस्ता मोडल थपिए ।


अझ यी मोडलभन्दा ठ्याक्कै तल आएको बीवाइडी एटो-टु, नामी-०६, केई एक्सथ्री-प्रो जस्ता मोडलले बजारमा राम्रै चर्चा कमाए । बुकिङ उठाए । मूल्यका हिसाबले हेर्ने हो भने ४० लाखदेखि ६० लाख रुपैयाँसम्म पर्ने सेग्मेन्टमा तगडा प्रतिस्पर्धा देखियो ।

दशैंमा गाडी दिनेगरी कम्पनीहरूले बुकिङ लिएका छन् । नयाँ गाडीको लामो लिस्ट बाहिर आइसकेको छ । बुकिङ गरेका मानिस कुन ठिक होला भनेर टेस्ट ड्राइभ गर्न थालिसकेका छन् ।

नयाँ आएका मोडलमा प्रतिस्पर्धा निकै कडा हुने

बजारमा ५० देखि ६० लाख मूल्यको बीचमा नयाँ थपिएका मोडलमा कडा प्रतिस्पर्धा हुने देखियो । यी दुई अटो एक्स्पो मार्फत बजारमा आएका लीपमोटर बी-१०, दीपल एस-०५, जेको जे-फाइभ, जिली ईएक्स-५ को बेस भेरियन्ट, फरथिङ फ्राइडे जस्ता मोडल एक अर्काका प्रतिस्पर्धी देखिए ।

यी सबैलाई तर्सान बीवाइडी एटो-थ्री र एटो-टु, एमजी एस-फाइभ, ओमोडा ई-फाइभ, हुन्डाई क्रेटा ईभी, प्रोटोन इमास-सेभेन जस्ता मोडल त छँदै थिए । अझ महिन्द्रा बीई-सिक्स माथिल्लो मूल्य र नामी-०६ तल्लो मूल्यमा थपिएकै छन् । यसले समग्र अटोमोबाइल बजारमा नयाँ तरङ ल्याउने पक्का छ । कडा प्रतिस्पर्धाले बजारलाई कसरी अगाडि लैजान्छ, त्यो अनुमान गर्न भने हतारो हुनेछ ।


Back_to_top