काठमाडौं । १७ औं संकरणको ‘नाडा अटो शो २०२५’ सम्पन्न भएको छ । गत भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित अटो शो आइतबार सम्पन्न भएको हो ।
६ दिनसम्म चलेको अटो शोमा ३६ ब्राण्डले सहभागीता जनाएका थिए । जहाँ करिब डेढ दर्जन बढी मोडलका नयाँ कार र मोटरसाइकल/स्कुटर सार्वजनिक गरिएको थियो ।
अटो शोमा नेपालमै पहिलोपटक उड्ने कार, ह्युमेन रोबोट प्रदर्शनी गरिएको थियो । साथै, भिन्जेट कारहरु पनि प्रदर्शनी गरिएको थियो । त्यस्तै, हरेक दिन विभिन्न अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
नाडाका अध्यक्ष करण चौधरीले यसपटकको नाडा अटो शो भव्यरूपमा सम्पन्न भएको बताए । उनले यो अटो शोमा १ लाख ६० हजार बढीले अवलोकन गरेको जानकारी दिए ।
नाडा अटो शोलाई ऐतिहासिक उपलब्धि मान्दै उनले अपेक्षामा अझ वृद्धि भएको बताए ।
यसपटक चारपाँग्रेतर्फ दीपल, दुईपाँग्रेतर्फ रोयल इनफिल्ड, कमर्शियल तर्फ डीएफएसके र कम्पोनेन्ट तर्फ हिट्को उत्कृष्ट स्टल घोषित भएका छन् ।

