मोटरसाइकल, कार वा अन्य सवारीले दुर्घटना गराएर भागेमा कस्तो कारवाही

काठमाडौं । मोटरसाइकल, स्कुटर, कार तथा ठूला सवारी साधनले पैदल यात्रुलाई ठक्कर दिएर भाग्ने गरेका घटना बढ्दै गएका छन् । केहि दिनअघि सहरी विकास मन्त्री प्रभु साहको चढेको ना १ झ ३८४२ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएर भागेको समाचार विभिन्न मिडियामा आएको थियो ।

गाडीको ठक्करबाट लालबन्दी नगरपालीका ८ चन्द्रपुरका बच्चु तामाङ घाइते भएका थिए । गाडीको ठक्करबाट उनको कम्मर र खुट्टामा चोट लागेको थियो । यो त हाइप्रोफाइलले गराएको ‘हिट एण्ड रन’ केस हो ।

नेपालको यातायात कानुन अनुसार मन्त्री साह चढेको कारले गम्भीर नियम उल्घंन गरेको मानिन्छ । तर, मन्त्री साहले यसलाई अन्यत्र मोडेर आफु पन्छिने काम गरे । भनौँ, शक्ति र सत्ताको आडमा उनको गाडी चालक र उनले उन्मुक्ति पाए वा ठूलाे कारर्वाही भएन । याे त प्रतिनिधि घटना मात्रै हाे ।

नेपालको यातायात व्यवस्था ऐनको दफा नम्बर १३३ मा दुर्घटना भएमा चालकले गर्नु पर्ने कर्तव्यको विषयमा उल्लेख गरिएको छ ।

दफा १३३ को उपदफा (१)मा यदि कुनै सवारीले दुर्घटना गरि मानिसको जिउ ज्यानमा कुनै किसिमको खतरा वा चोट पटक पर्न गएको रहेछ भने उक्त सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा कामगर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरुन्त आवश्यक व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

२ उपदफा (१) बमोजिम सवारी दुर्घटनाग्रस्त भएको स्थानमा कुनै सुरक्षा निकायको मानिस नभएमा चालकले तुरुन्तै सो दुर्घटनाको जानकारी तथा विवरण नजिकको प्रहरी कार्यालयमा दिनु पर्छ । प्रहरीले दुर्घटनाको सम्बन्धमा सवारी चालकसँग कुनै कुराको सोधपुछ गरेका निजले सोधिएको सबै बताउनु पर्छ भन्ने उल्लेख छ ।

यस्तोमा चालकले दुर्घटना गराएर भाग्दा प्रहरीले ‘हिट एण्ड रन’ केसमा तत्काल हिरासतमा लिएर कारवाही गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

यदि कसैको ज्यान लिएर वा घाइते बनाएर भग्ने सवारी चालकलाई यातायात व्यावस्था ऐनको दफा १६१ अनुसार कारवाही गर्ने अधिकार ट्राफिक प्रहरीलाई दिइएको छ ।

यसरी गर्ने कारवाही दुर्घटनाको प्रकृति हेरर निर्धारण गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता एसपी श्यामकृष्ण अधिकारी बताउँछन् ।

‘यदि कुनैपनि सवारी साधनले पैदल यात्रुलाई ठक्कर दिएर भागेको छ भने उसलाई कारवाही त हुन्छ नै उसले विरामीको उपचार खर्चपनि आफैँ व्यार्होनु पर्छ । यसरी भाग्नेलाई हामी बीमाको सिफारीस दिदैनौं’, अधिकारीले भने ।

दुर्घटना गरेर भाग्नु सावारी चालकको सबैभन्दा ठूलो अपराध मानिन्छ । उसले उन्मुक्ति पाउने कुरै हुँदैन । उसलाई नियन्त्रणमा लिएर जेल चलान गर्ने र नगद जरिवाना तिराउने व्यवस्था रहेको उनले बताए ।

हिट एण्ड रन केसमा कसैको तत्कालै वा २१ दिन दिन भित्र ज्यान गएको खण्डमा चालकलाई कसुरको मात्रा र प्रकृति हेरि ३ वर्षदेखि १० वर्षसम्म जेल सजाय र जरिवाना हुनसक्ने व्यवस्था गरिएको छ ।

पछिल्लो समसमा सवारी साधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्नेहरु बढेको देखिन्छ । यस्तोमा सरोकारवाला निकायले दुर्घटनापछिको चालकको कर्तव्यका विषयमा धेरै जनचेतना मूलक कार्यक्रम संचालन गर्नु पर्ने विज्ञहरुले बताउँदै आएका छन् ।


Back_to_top