काठमाडौं । विद्युतीय साधनको बिक्री र चर्चा चुलिएसँगै विभिन्न ब्राण्डले दुई पाङ्ग्रे साधनमा काम गरिरहेका छन् । नेपालमा चल्तीका दुई पाङ्ग्रे ब्राण्ड टीभीएसले स्कुटर बजारमा ल्याइसक्दा होन्डाले पनि इलेक्ट्रीक स्कुटर देखाउन लागेको हो ।
जापानी दुईपाँग्रे सवारी साधन निर्माता होन्डाले एक्टिभा स्कुटरको इलेक्ट्रीक भर्सन आगामी कन्जुमर इलेक्ट्रीक शो २०२४ मा देखाउन लागेको हो ।
होन्डाले सन् २०३० सम्म ३० नयाँ इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर लन्च गर्ने योजना बनाएको छ । यहि योजना अनुसार कम्पनीले आगामी जनवरीमा हुने उक्त शोमा एक्टीभा बाहेक पनि अन्य मोडल पनि देखाउने अनुमान गरिएको छ ।
होन्डाको आइसीइ इन्जिनतर्फ सर्वाधिक सफल स्कुटर एक्टिभा इलेक्ट्रीक जापानमा सार्वजनिक भएसँगै भारतीय बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।
एक्टिभा इलेक्ट्रीकमा टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, स्मार्ट कनेक्टिभिटी जस्ता फिचर उपलब्ध हुनेछ । कम्पनीका अनुसार एक्टिभा इलेक्ट्रीकको टपस्पीड ५० किलोमिटर प्रति घण्टा मात्रै रहन्छ ।
यसको बाहिरी डिजाइन भने रेगुलर होन्डा एक्टिभासँग मिल्दो हुनेछ । इलेक्ट्रीक स्कुटरमा प्रयोग हुने सस्पेन्सन, ब्रेक लगायतका कम्पोनेन्ट एक्टिभाको रेगुलर मोडलबाट नै लिने अनुमान गर्न सकिन्छ ।
यो स्कुटर बिक्री सुरु भएपछि बजारमा टीभीएस आइक्यूबसँग प्रतिष्पर्धा गर्ने अनुमान लगाउन सकिन्छ ।

