काठमाडौं । नयाँ वर्ष सन् २०२५ को शुभारम्भ भएको छ । नयाँ वर्षसँगै गाडी बिक्रेताहरूले नयाँ-नयाँ मोडल बजारमा ल्याउने क्रम बढ्ने देखिन्छ ।
नयाँ वर्षको पहिलो महिना नै दुई नयाँ मोडलले बुकिङ खुला गर्ने भएका छन् । नयाँ वर्ष २०२५ को पहिलो महिनामा एमजी र होण्डाले आफ्नो नयाँ मोडलको बुकिङ खुला गर्न लागेका हुन् ।
होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले आफ्नो पहिलो इलेक्ट्रीक मोडल नेपाल ल्याउने जनाएको छ । कम्पनीले ईःएन-१ इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने भएको हो । कम्पनीले जनवरी अन्तिमबाट यसको बिक्री सुरू गर्नेछ ।
एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एस-५ मोडल बिक्री सुरू गर्नेछ । प्योर ईभी प्लेटफर्ममा तयार भएको एमजी एस-५ मोडलको बुकिङ केही दिन भित्रै सुरू हुने कम्पनीले जनाएको छ ।
‘गाडीको बुकिङ खुला गर्ने तयारीमा हामी लागेका छौं । दुई महिना भित्र डेलिभरी दिनेगरी बुकिङ खुला गर्न लागिएको हो,’ पारामाउन्ट मोटर्स स्रोतले भन्यो ।
यी दुवैकम्पनीले ल्याउन लागेको एसयूभी साइजका हिसाबले केही फरक भए पनि मूल्यका हिसाबले भने राम्रै फरक हुने अनुमान गर्न सकिन्छ । होण्डा ईःएन-१ मूल्यको हिसाबले महँगो हुनेछ ।
यी दुवै एसयूभीको बीचमा २० देखि २५ लाखसम्म मूल्यमा फरक हुनसक्छ । एमजी एस-५ को मूल्य अहिले बिक्री हुँदै आएको जेडएस ईभी सरह हुने अनुमान गर्न सकिन्छ । जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यस्तो छ एमजी एस-५
नेपाल आउने एमजीको नयाँ एसयूभी एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

निकै प्रिमियम क्याबिन दिइएको एस-५ मा प्रिमियम सिट, मोर्डन सेन्टर कन्सोल र ड्यासबोर्डमा १५.४ इन्चको सेन्टर स्कृन र डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
एमजीले चिनियाँ बजारमा ४९.१ र ६२.२ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिएर ल्याएको एस-५ नेपाल कुन ब्याट्री साइजमा आउँदैछ भन्ने आधिकारिक जानकारी प्राप्त भएको छैन । तर, यसमा दिइएको ब्याट्री भने विश्वकै सबैभन्दा पातलो रहेको कम्पनीको दाबी छ । यसको मोटर पावरको बारेमा पनि जानकारी दिइएको छैन । चीनमा भने १२५ किलोवाट क्षमताको मोटरमा उपलब्ध छ ।
होण्डा ईःएन-१
होण्डा ईःएन-१ को लम्बाइ ४३८७ एमएम, चौडाइ १७९० एमएम र उचाइ १५८४ एमएम छ । यसमा २६०७ एमएम लामो ह्वीलबेस रहेको छ ।
होण्डाको ईःएन-१ ईभीमा ६८.८ किलोवाटको ब्याट्रीप्याक छ । होण्डा ईःएन-१ मा १५० किलोवाटको मोटर छ । होण्डाको एचआर भीको डिजाइनबाट प्रभावित ईभीमा आकर्षक फ्रन्ट डिजाइन रहेको छ ।

होण्डाको पहिलो इलेक्ट्रीक एसयूभीको ड्यास बोर्डमा १५.१ इन्चको भर्टिकल इन्फोटेन्मेन्ट टचस्कृन रहेको छ । यसको क्याबिनमा ड्युल जोन क्लाइमेट कन्ट्रोल सिस्टम, पानारोमिक सनरुफ, पार्किङ सेन्सर, ३६० डिग्री क्यामरा र सुरक्षाको लागि होन्डा सेन्सिङ फिचरसहित एडास उपलब्ध छ ।

