साना मोटरसाइकलमा होन्डाको वर्चश्व, अन्य ब्राण्डको अवस्था के ?

काठमाडौं । नेपालमा स्कुटरपछि सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल १२५ सीसी क्षमताका हुन् । अहिले १२५ सीसी सेग्मेन्टमा धेरै ब्राण्ड बीच प्रतिस्पर्धा भइरहेको छ ।

यस सेग्मेन्टमा नयाँ मोडलहरू पनि आइनै रहेका छन् । हाम्रो बजारमा १२५ सीसी क्षमताका मोटरसाइकल सबैभन्दा धेरै बिक्री गर्ने ब्राण्डमा हिरो, होन्डा, टीभीएस, बजाज र यामाहा छन् ।

सन् २०२४ को नोभेम्बर महिनासम्ममा २३ हजार ३३९ यूनिट १२५ सीसी क्षमताका मोटरसाइकल आयात भएको भन्सार तथ्यांकले देखाउँछ । १२५ सीसी क्षमताका मोटरसाइकल यस अवधिमा सबैभन्दा धेरै होन्डाले आयात गरेको देखिन्छ ।

साना मोटरसाइकलको बजार हिस्साको आधारमा होन्डा ३५ प्रतिशत, हिरो ३४ प्रतिशत, टीभीएस १९ प्रतिशत, बजाज ११ प्रतिशत र यामाहा १ प्रतिशत रहेको छ ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले ८ हजार १२० यूनिट मोटरसाइकल १२५ सीसीको आयात गरेको देखिन्छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा होन्डा साइनका ४ भेरियन्टमा बिक्री गर्दै आएको छ । यसको मतलव कम्पनीले उक्त संख्यामा साइन मोटरसाइकल आयात गरेको हो ।

त्यस्तै, दोस्रो स्थानमा हिरोका मोटरसाइकल परेका छन् । सिजी मोटर्सले हिरोका मोटरसाइकल बिक्री सुरु गरेसँगै कम्पनीले २०२४ को ११ महिनामा १२५ सीसीका ७ हजार ८३१ युनिट मोटरसाइकल आयात गरेको देखिन्छ । यसमा कम्पनीले हालै सार्वजनिक गरेको एक्स्ट्रीम १२५ आर ६०२ यूनिट आयात भएको छ ।

कम्पनीले हिरो एक्स्ट्रीम १२५ आर र स्प्लेन्डर १२५ लगायतका मोडलहरु आयात गरेर बिक्री गर्दै आएको छ ।

त्यसैगरी, तेस्रो नम्बरमा टीभीएस रहेको छ । जगदम्बा मोटर्सले यो सेग्मेन्टमा रेडर १२५ आयात गर्दै आएको छ । कम्पनीले २०२४ को नोभेम्बरसम्ममा ४ हजार ४९८ यूनिट रेडर आयात गरेको देखिन्छ । टीभीएसको नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल पनि यही हो ।

त्यस्तै चौथो नम्बरमा रहेको बजाजले पल्सर १२५ र डिस्कभर १२५ मोटरसाइकल २ हजार ५९८ यूनिट आयात गरेको छ । पाँचौ नम्बरमा रहेको यामाहाले २८० यूनिट र जोनसेनले १२ यूनिट मोटरसाइकल १२५ सीसी सेग्मेन्टमा आयात गरेका छन् ।


Back_to_top