यामाहा र होन्डाले ल्याउँदै कम मूल्यका डबल स्पोर्टस् मोटरसाइकल

काठमाडौं । डबल स्पोर्टस् मोटरसाइकल अहिले युवापुस्तामा निकै रुचाइएको मोडल हो । विशेषत यो सेग्मेन्टमा बन्ने मोटरसाइकल सहरी र पहाडी दुबै किसिमका बाटोको लागि उपयुक्त मानिन्छ ।

यसलाई कम्पनीहरुले एड्भेन्चर मोटरसाइकलको रुपमा पनि व्याख्या गर्ने गरेको पाइन्छ । लामो यात्रा गर्न चाहने राइडरदेखि सहरमा आफ्नो दैनिक काममा प्रयोग गर्नेसम्मका ग्राहक लक्षित यस्ता मोटरसाइकल नेपालमा पनि निकै खोज्न थालिएको छ ।

हिरोले पहिलो पटक उत्पादन गरेको यहि सेग्मेन्टको एक्सपल्स नेपालमा निकै सफल मानिएको छ । झट्ट हेर्दा निकै आकर्षक र स्टाइलिस देखिने यो सेग्मेन्टमा यामाहाले एफजेड एक्स र होन्डाले एनएक्स २०० बजारमा ल्याउन लागेका छन् ।

यामाहाको एफजेड एक्समा १५० सीसी क्षमताको इन्जिन रहने छ भने होन्डाको एनएक्स २०० मा १८४ सीसी क्षमताको इन्जिन रहने अनुमान गरिएको छ । यी दुबै मोटरसाइकलमा ५ स्पीड गियरबक्स रहने अनुमान गरिएको छ ।

यामाहाले केहि महिनाअघि नै एफजेड एक्सको ट्रेडमार्क दर्ता गरेको छ भने होन्डाले एक महिनाअघि एनएक्स २०० को ट्रेडमार्क दर्ता गरेको हो । यामाहाको एफजेड एक्स एफजेडएस भि थ्रीमा आधारित रहने छ । होन्डाले पनि हर्नेट २.० मा आधारित रहेर नयाँ मोटरसाइकल एनएक्स २०० ल्याउने अनुमान गरिएको छ ।

यी दुबै जापनीज कम्पनीले भारतमा बनाउने एड्भेन्चर मोटरसाइकलको मूल्य पनि भारतीय रुपैयाँ १ लाख ३० हजारदेखि १ लाख ५० हजार रहने विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

भारतमा उत्पादन हुने यामाहा र होन्डाका दुबै एड्भेन्चर मोटरसाइकल आउने मोडलमा पर्छन् । यस्तोमा यी दुबै मोटरसाइकलको नेपालमा मूल्य ३ लाख ९० हजारदेखि ४ लाख ५० हजारसम्म पर्ने अनुमान गर्न सकिन्छ । यी दुबै मोटरसाइकलको पूर्ण विवरण कम्पनीहरुले सार्वजनिक गरेका छैनन् । तर, आगामी चाडपर्व अघिनै यी दुबै मोडल बजारमा आउने जनाइएको छ ।


Back_to_top