१५० सीसी क्षमताका मोटरसाइकलको मूल्य २ लाखदेखि ५ लाख ५० हजारसम्म (मोडल र मूल्यसहित)

काठमाडौं । १५० सीसीको मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ भने मोटरसाइकलको बनोट, ब्राण्ड र त्यसको पर्फमेन्स अनुसार रकम तिर्नु पर्ने हुन्छ । बजारमा १५० सीसी सेग्मेन्टमा २ लाख ३० हजारदेखि ५ लाख ४९ हजार ९०० रुपैयाँसम्मको मोटरसाइकल किन्न पाइन्छ ।

नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल १५० सीसी सेग्मेन्टमा हो । बजाजले पल्सर १५० मात्रै वार्षिक ३० हजारभन्दा धेरै यूनिट विक्री गर्छ । यामाहाको एफजेड सिरिज, सुजुकीको जिक्सर १५०, होन्डा यूर्निकन १५० र हिरो एचिभर यो सेग्मेन्टमा धेरै विक्री हुने मोटरसाइकल हुन् ।

हामीले यहाँ १४९ सीसीदेखि १५० सीसी क्षमताको इन्जिन प्रयोग भएका मोटरसाइकलको बारेमा मात्रै उल्लेख गरेका छौं ।

नेपाली बजारमा उपलब्ध १५० सीसीको सबैभन्दा सस्तो मोटरसाइकल हिरो एचिभर हो । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकेर विक्री हुँदै आएको छ । हिरोको आधिकारीक वितरक एनजीएमले नेपालमा विक्री गर्ने यो मोटरसाइकलमा १४९.१ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले १३.४ बीएच पावर प्रदान गर्छ ।

यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले नेपालमा विक्री गर्दै आएको एसजेड आरआर दोस्रो सस्तो मोडल हो । १४९ सीसी क्षमतको इन्जिनमा उपलब्ध यामाहाको यो मोटरसाइकलको मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त इन्जिनले अधिकतम १२.१ पीएस पावर प्रदान गर्छ ।

वेनेलीले नेपालमा विक्री गर्दै आएको टिएनटी १५ र टिएनटी १५० आई पनि १५० सीसी क्षमताका मोटरसाइकल हुन् । कम्पनीले विक्री गर्ने टिएनटी १५ को मूल्य २ लाख ४७ हजार ५०० र टिएनटी १५० आईको मूल्य ३ लाख २२ हजार ५०० रुपैयाँ रहेको छ । १४९ सीसी क्षमताका इन्जिन उपलब्ध यी बाइकले अधिकतम १२.६ बीएच पावर प्रदान गर्छ ।

१५० सीसी सेग्मेन्टको चाैथाे सस्तो मोटरसाइकल होन्डा यूनिकर्न १५० हो । यसको मूल्य २ लाख ६५ हजार ९०० रुपैयाँ रहेको छ । स्याकार ट्रेडिङले विक्री गर्ने यो मोटरसाइकल बजारमा निकै सफल मोडल मानिन्थ्यो । सन् २०१६ मा यसको उत्पादन बन्दगरेसँगै यूनिकर्न १६० सीसीमा मात्रै उपलब्ध रहेको थियो । तर, २०१९ को अन्तिमबाट पुनः बजारमा आएको यूनिकर्न अहिलेपनि राम्रो विक्री हुने मोडलमा पर्छ । यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले १२.७३ बीएच पावर प्रदान गर्छ ।

बजाज पल्सर १५० सर्वाधिक सफल मोटरसाइकल हो । यसको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री वितरण हुँदै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सन् २००१ देखि नै नेपालमा पल्सर १५० उपलब्ध रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहेको (टीडी) भेरियन्टपनि उपलब्ध रहेको छ । यो भेरियन्टको मूल्य भने २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ । यसमा रहेको १४९.५ सीसी क्षमताको इन्जिनले अधिकतम १३.४ पीएस पावर प्रदान गर्छ ।

यामाहाले विक्री गर्ने एफजेडएस भि टु र भि थ्रि पनि १५० सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ । एफजेड भि टुको मूल्य २ लाख ८४ हजार ९००, एफजेडएस भी टुको मूल्य ३ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ भने भि थ्रीको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । यी मोटरसाइकलमा रहेको १४९ सीसीको इन्जिनले अधिकतम १३.१ पीएस पावर प्रदान गर्छ ।

नेपालमा विक्री हुने सबैभन्दा महंगो १५० सीसीको मोटरसाइकल होन्डा एक्सआर १५० एल हो । स्याकार ट्रेडिङले विग बाइकको सेग्मेन्टमा राखेर विक्री गर्दै आएको एक्सआर १५० एलको मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ । यसमा उपलब्ध इन्जिनले अधिकतम १२.१४ हर्स पावर प्रदान गर्छ ।


Back_to_top